स्मारक ए डिभिजन लिग २०२३ मा विभिन्न अनुशासन उल्लंघन गरेको भन्दै एन्फाको अनुशासन समितिले चार क्लबलाई कारबाही गरेको छ।
अप्रिल १६ मा एपीएफ फुटबल क्लबसँगको खेलमा ढिलाइ गरेको भन्दै समितिले संकटा क्लबलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो।
गोलकिपरको जर्सीलाई लिएर भएको विवादले खेलको सुरुवात २६ मिनेट ढिलो गरी प्रत्यक्ष प्रसारणमा समेत असर गरेको थियो। सोही खेलको दोस्रो हाफ दुई मिनेट ढिलो गरेको भन्दै समितिले एपीएफ फुटबल क्लबलाई रु ५ हजार जरिवाना गरेको छ। एपीएफ क्लबका अधिकारी जीवेश पाण्डे पिचमा प्रवेश गरेपछि खेल ढिलो सुरु भएको थियो।
मच्छिन्द्र फुटबल क्लबविरुद्धको खेलमा फोर्थ अफिसियल ज्ञानबहादुर मोक्तानलाई हातपात गरेकोमा एपीएफका अधिकृत पाण्डेलाई पनि आठ खेलको निलम्बन र १० हजार रूपैयाँ जरिवाना गरिएको छ। पाण्डेले खेलपछि अफिसियललाई हातपात गरेका थिए र फिफा अनुशासन संहिता अध्याय (२), दफा (१एल) शारीरिक बमोजिम कारबाही गरिएको हो।
समितिले गत अप्रिल ११ मा मच्छिन्द्र फुटबल क्लबसँगको खेलपछि ड्रेसिङ रुममा रहेका कुर्सी तोडफोड गरेको भन्दै एफसी खुमलटारलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। च्यासल रंगशालामा भएको खेलमा खुमलटार डिफेन्डिङ च्याम्पियनसँग ७–३ ले पराजित भएको थियो।
अप्रिल १५ (म्याच ५८) मा न्युरोड टिमसँगको खेलपछि रेफ्रीमाथि आक्रमण गर्ने प्रयास गरेको आरोपमा मछिन्द्रलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। एनआरटीसँगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।