फिफा विश्वकप २०२३ को सह-आयोजक अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको छ।
इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो।
यसअघि अर्को टिम स्पेन पनि पहिलो पटक फाइनलमा पुगेको थियो। अब आइतबार हुने स्पेन र इंग्ल्यान्डबीचको फाइनलपछि महिला विश्वकपले नयाँ च्याम्पियन पाउनेछ।
बुधबार सिड्नीमा भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियामाथि इंग्ल्यान्डले ३-१ गोलको जित निकाल्यो।
खेलको ३६ मिनेटमा इंग्ल्यान्डले अग्रता लियो। उसका लागि इला टोनीले गोल गरिन्।
अस्ट्रेलिया खेलको ६३ मिनेटमा खेलमा फर्कियो। गोर्रीको पासमा केरले गोल गरेपछि अस्ट्रेलियाले खेलमा १-१ गोलको बराबरी गर्न सफल भएको थियो।
इंग्ल्यान्डले ७१ मिनेटमा खेलमा दोस्रो पटक अग्रता लिन सफल भयो। ब्राइटको पासमा लाउरा हेम्पले गोल गरेपछि इंग्ल्यान्ड २-१ गोलले अग्रता लियो।
खेल सकिन चार मिनेट बाँकी छदा इंग्ल्यान्डले तेस्रो गोल गर्दै जिततर्फ अघि बढ्यो। इंग्ल्यान्डका लागि ८६ मिनेटमा एलिसिया रूसोले तेस्रो गोल गरिन्।