अमेरिकी फुटबल क्लब इन्टर मायमी सीएफले मेजर लिग सकर (एमएलएस) को पछिल्ला ११ खेलमा जित निकाल्न सकेको थिएन। पछिल्लो पटक मे ७ मा एटलान्टा युनाइटेडविरूद्ध २-१ ले विजयी भएपछि मायमीले ११ खेल जितविहीन यात्रा गर्यो।
यो बीचमा क्लबले अमेरिकाको युएएस ओपनको तीन खेल भने जितेको थियो। तर अमेरिकाको लिगमा भने उसको प्रदर्शन फिक्का रह्वो।
इंग्ल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामको लगानीमा रहेको मायमी २०२३ को मेजर सकर लिगको इन्टर्न कन्फ्रेन्सतर्फको १५ क्लब मध्येअन्तिम स्थानमा छ। उसले २२ मध्ये ५ खेलमा मात्र जित निकाल्दा १४ खेलमा हार र ३ खेलमा बराबरी खेलेको छ।
अमेरिकाको इन्टर्न र वेस्टर्नतर्फ गरी २९ क्लबको अंक तालिकामा पनि मायमी अन्तिम स्थानमा छ। अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिग एमएलएसमा अमेरिकाका २६ र क्यानडाका ३ क्लबको प्रतिस्पर्धा रहने गरेको छ।
पछिल्लो एक महिना भने मायमीले उत्कृष्ट खेल देखाइरहेको छ। पछिल्ला समय लिग बाहेकको खेलमा भने मायमीले उत्कृष्ट लय समातेको छ।
लगातार सात खेलमा जित निकाल्दै मायमीले आइतबार अमेरिकाको लिग्स कपको उपाधि जित्यो।
अमेरिकाको एमएलएस र मेक्सिकोको शीर्ष डिभिजनको लिग खेल्ने क्लबबीच हुने यो प्रतियोगिताको सन् २०२३ को सिजनमा ४७ टिमबीच प्रतिस्पर्धा भएको थियो। पूराना र बलिया मानिएका क्लबलाई पछि पार्दै पाँच वर्षअघि स्थापना भएर तीन वर्षदेखि लिग खेलिरहेको मायमीले उपाधि जितेको हो। क्लबको यो पहिलो मुख्य उपाधि हो।
मायमीको प्रदर्शनमा आमूल परिवर्तन आउनुको एउटै कारण छ, अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीको आगमन। यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट मेसीसँगै खेलेका सर्जियो बुस्केट र जोर्डी अल्बा पनि मायमीमा आबद्ध हुँदा क्लबको प्रदर्शन उच्च बनेको थियो।
मेसीले मायमीसँग २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकाकी फुटलबमा निकै प्रभाव पर्ने आकलन गरिएको थियो। जसलाई सही प्रमाणित गर्दै मेसीले क्लबका लागि पहिलो उपाधि मात्र दिलाएनन्, अमेरिकी फुटबलको लोकप्रियतालाई अझ उकासे।
साउदी अरेबिया क्लबहरूको अर्बौं डलरको प्रस्ताव त्यागेर अमेरिका गएका मेसीले एक वर्षको ५ देखि ६ करोड डलर पारिश्रमिक पाउने बताइएको छ। क्लबले सेयर अंश पनि दिने प्रस्ताव गरेपछि मेसी अमेरिकी क्लबमा गएको बताइन्छ। एडिडास र एप्पलबाट एमएलएसलाई प्राप्त हुने प्रायोजन रकममा मेसीले पनि केही अंश पाउने अर्को सम्झौता छ।
आकर्षक सम्झौता भए पनि मेसीले कमजोर अमेरिकी टिमलाई अगाडि बढाउन सक्नेमा कतिपयको शंका थियो। तर उनले आफ्ना पूर्वसहकर्मी बुस्केट र अल्बासँगै मायामीमा रहेका नयाँ खेलाडीसँग तालमेल मिलाए। प्रत्येक खेलमा गोल गर्दै आलोचकको बोली बन्द गरिदिए।
मेसी मायमीमा आबद्ध भएसँगै सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकपअघि अमेरिकी फुटबलको लोकप्रियताको ग्राफ अझै बढ्ने देखिन्छ।
सात पटकका बालोन डी’ओर विजेता ३६ वर्षीय मेसीले सन् २०२२-२३ सिजनको अन्त्यमा फ्रान्सेली च्याम्पियन पिएसजी छाडेर अमेरिकी क्लब रोजेका थिए।
गत वर्ष कतारमा विश्वकप जित्दा आफ्नो देशको नेतृत्व गरेका मेसीले मायामीसँगको सम्झौतापछि भनेका थिए, 'इन्टर मायामी र संयुक्त राज्य अमेरिकामा मेरो करियरको अर्को चरण सुरू गर्न पाउँदा म धेरै उत्साहित छु।'
मेसीले २०२१ मा विश्वको उत्कृष्ट खेलाडीको लागि आफ्नो सातौं बालोन डी'ओर अवार्ड जितेका थिए। अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ को सफलता दिलाएपछि मेसीले यो वर्ष पछि फेरि विश्वको उत्कृष्ट खेलाडीको अवार्ड जित्न सक्ने अपेक्षा गरिएको छ।
उनले पिएसजीका लागि कुल ७५ खेलमा ३२ गोल गरेका थिए। गत सिजन फ्रेञ्च लिग वानमा १६ गोल र १६ असिस्टसहित गत सिजनको अन्त्य गरेका थिए।
स्पेनिस क्लब बार्सिलोनामा २१ वर्ष बिताएपछि मेसी २०२१ मा फ्रान्सेली टोलीमा आवद्ध भएका थिए। ६७२ गोल गरी १० ला लिगा उपाधि, चार च्याम्पियन्स लिग र सातवटा स्पेनिस कप जितेका मेसी बार्सिलोनाको कीर्तिमानी गोलकर्ता हुन्।
युरोपमा उत्कृष्ट प्रदर्शन गरेका मेसीले अमेरिकामा पनि लयमा कामयै राखे। मायमीलाई अन्तिम ३२ हुँदै उपाधि जिताउने क्रममा सात खेल खेल्दै १० गोल गर्न सफल भए। उनले मायमीका लागि खेलेका सबै खेलमा गोल गर्दै अर्को इतिहाससमेत रचे।
३६ वर्षीय मेसीले लिग्स कपको फाइनलमा आइतबार नाश्भिल एफसीविरूद्ध पनि गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यो उनको करिअरको ८१७ औं गोल हो। दोस्रो हाफमा नाश्भिलले बराबरी गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा दुबै टिमका ११-११ खेलाडीले पेनाल्टी हानेका थिए। एघारौं पेनाल्टीमा मायमीका गोलकिपर ड्रेक कालेन्डरले न्यासभिलका गोलकिपर इलियट प्यानिकोको प्रहार विफल पारेपछि मायमीले १०-९ को जित निकाल्यो।
मेसीले जुलाई २२ मा लिग्स कपको खेलमा क्रुज अजुलविरूद्ध डेब्यू गरेका थिए। डेब्यू खेलमै गोल गरेका उनले दोस्रो हाफको इन्जुरी टाइममा फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्दा मायमी २-१ गोलको जितसहित अन्तिम ३२ मा पुगेको थियो। त्यसपछि मेसी रोकिएनन्, लगातार गोल गर्दै मायमीलाई अघि बढाए।
मायमीले बुधबार युएस ओपन कपको सेमिफाइनलमा सिनसिनटीसँग खेल्दा अर्को फाइनलमा पुग्ने मौका पनि छ।
पहिलो उपाधि जितेर इतिहास बनाएपछि डेभिड बेकह्यामले बार्सिलोनाका पूर्व खेलाडीत्रयले (मेसी, बुस्केट र अल्बा) क्लबको भाग्य परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताए।
उपाधिपछि स्पेनका मिडफिल्डर बुस्केटले भने, ‘टिम फड्को मार्दै बढिरहेको छ र हामी धेरै खुसी छौं। हामी एक बलियो टिम बनाउँदैछौं। हामीसँग मेसी छन्, उनी हुँदा टिममा धेरै फरक पर्छ, किनभने उनी संसारको सर्वश्रेष्ठ खेलाडी हुन्।’
मेसी कपको उत्कृष्ट खेलाडी घोषित भए। उपाधिसँगै उनले करिअरको ४४ औं ट्रफी उचाल्न सफल भए। जससँगै मेसी इतिहासका सबैभन्दा बढी ट्रफी उचाल्ने खेलाडी बने। बढी उपाधि जित्ने खेलाडीमा मेसीले ब्राजिलका ड्यानी अल्भेससँग बराबरी गरे।