नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भन्डारी साम्बा आबद्ध इजरायलको क्लब हापोएल रानानाको खेल पोसाकमा नेपाली कम्पनीको लोगो राखिएको छ।
आधुनिक कृषिका लागि आवश्यक सामाग्री विक्री वितरण गर्दै आएको सलोम एग्रिकल्चरको लोगो खेलाडीहरुले लगाएको हाफ पाइन्टमा छ।
नेपालका लागि इजरायली राजदूत हनान गोडरको पहलमा आफ्नो कम्पनीको लोगो नि:शूल्क राखिएको सलोम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारीले बताए।
'मैले इजरायलमै झण्डै एक दशक कृषि क्षेत्रमा काम गरेको हो। १५ वर्षदेखि नेपालमै कृषि प्रविधिको क्षेत्रमा काम गरेको छु,'उनले भने,'महामहिमले कम्पनीको लोगो सहितको ड्रेस खेलाडीले लगाउछन् भन्नुभएको थियो। यसले मलाई हर्षित बनाएको छ।'
साम्बाले यसअघि बिहीबार क्लबमा डेब्यू गरेकी थिइन्। रानाना इजरायलको शीर्ष डिभिजनको क्लब हो।
इजरायलको महिला लिग अगस्ट ३१ बाट सुरू हुँदैछ। आठ टिमबीच प्रतिस्पर्धा हुने लिगमा साम्बाको टिम रानानाले अगस्ट ३१ मा इरोनी रामतसँग खेल्नेछ।
साम्बा गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन्।