नेपालको त्रिभुवन आर्मी क्लब भारतको डुरान्ड कपको आफ्नो तेस्रो खेलमा पराजित भएको छ।
मंगलबार भएको खेलमा आर्मी हैदरावाद एफसीसँग ३-० गोलले पराजित भयो।
यसअघि प्रतियोगिताबाट बाहिरिएको समूह ‘ई’ को आर्मीविरुद्ध हैदरावादका आरेनले ह्याट्रिक गरे। उनले खेलको १६, २४ र ६९ मिनेटमा गोल गरेका थिए।
यसअघि दोस्रो खेलमा आर्मी चेन्नइयनसँग ३-० गोलले पराजित भएको थियो। पहिलो खेलमा आर्मी दिल्ली एफसीसँग एक एक गोलको बराबरीमा रोकिएको थियो।
कपमा ६ समूहका २४ टिमबीच भारतका विभिन्न शहरमा खेल भइरहेका छन्। ६ समूहका शीर्ष टिम र दुई उत्कृष्ट उपविजेता अन्तिम आठमा पुग्नेछन्। प्रतियोगिता भदौ १७ मा सकिनेछ।