अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २४ गतेका लागि बोलाएको विशेष साधारणसभामा भौतिक उपस्थितिमा संचनल गर्न एन्फाको लिग खेल्ने ३२ क्लबले माग गरेका छन्।
एन्फाले भर्चुअल रुपमा साधारणसभा गर्न लागेपछि क्लबहरूले भौतिक रुपमै विशेष साधारणसभा गर्न माग गरेका हुन्।
एन्फाका कार्यवाहक महासचिव अरूणमान जोशीलाई बुधबार क्लबहरुले ध्यानाकर्षण पत्र समेत बताएका छन्। यस्तै पत्र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई पनि बुझाइएको छ।
'क्लबहरुले एन्फा विधान को धारा ३६ बमोजिम सम्पूर्ण सदस्यहरूको भौतिक उपस्थितिमा गराउन जोडदार माग गर्दछौ,' पत्रमा भनिएको छ, 'विधानमा स्पष्ट रुपमा विशेष परिस्थिति, महामारी र असहज अवस्थामा मात्र भर्जुअल बैठक गर्न मिल्ने व्यवस्था भएकोले सदस्यहरूको भौतिक उपस्थितिमा विभिन्न विषय हरूमा समेत सहज छलफल गर्न पाउने बिधानको धारा ३७ (६) संम्बद्ध व्यवस्थालाई कुण्ठित नगरियोस् भन्ने हाम्रो ठम्याइ छ।'
यसअघि एन्फा कार्यसमितिको साउन १९ को वैठकले लेखा परीक्षक एलएससी एसोसिएटलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय भै सकेको अबस्थामा पुनः सोही निर्णयलाई अनुमोदन गर्न लबोलाईएको विशेष साधारण सभाको कुनै औचित्य नभएको क्लबहरुको भनाइ छ।
क्लबहरुले उपलब्ध हुन बाँकी तयारी खर्च नदिए एन्फाका कुनै प्रतियोगिता नखेल्ने पनि चेतावनी दिएका छन्।
'एन्फाले आयोजना गरेको सहिद स्मारक लिग अन्तर्गत ए. बि. सि. डिभिजन लिग प्रतियोगिताको तयारी खर्च बिगत लामो समय देखि एन्फाले भुक्तानी नगरेकोले यस सम्बन्धमा एन्फा महासचिव लगायत पदाधिकारीहरु संग पटक पटक छलफल तथा बिभीन्न समयमा क्लबहरूले बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरिसकेको हुंदा यस सम्बन्धमा एन्फा जिम्मेवार नदेखिएकोले अबिलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न पुनः एन्फाको ध्यानाकर्षण गर्दैछौ। यस विषयमा एन्फा गम्भीरभे क्लबहरू समक्ष प्रतिबद्धता नजनाईएमा एन्फाबाट सन्चालन हुने कुनै पनि प्रतियोगिताहरूमा सहभागी नहुने समेत जानकारी गराउदै यो ज्ञापनपत्र बुझाएका छौं,' पत्रमा भनिएको छ।