दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको आजदेखि सुरू हुँदैछ।
आज हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी टिम इलाम एफसीबीच खेल हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
दशरथ रंगशालामा शुक्रबार हुने उद्घाटन समारोहमा सुशान्त केसी, ट्वीनी गर्ल्स र वाङ्देन शेर्पाले मनोरञ्जनात्मक प्रस्तुति दिने आयोजकको भनाइ छ।
प्रतियोगिताको सबै खेल दशरथ रंगशालामा हुनेछन्। रंगशालाका प्रवेशका लागि दुई सय र चार सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।
प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् भने टिममा पाँच विदेशी खेलाडी राख्न पाइने नियम छ। यस्तै कतिपय टिमले विदेशी प्रशिक्षक समेत भित्र्याएका छन्।
एनएसएलमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी हुनेछन्। सबै टिमले लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन्।
२०७७ सालमा भएको सिजनमा काठमाडौं रेजर्स च्याम्पियन भएको थियो।