एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एएफसी एसियन कपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ।
बिहीबार करातको अहमेद बिन अली रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतलाई उज्वेकिस्तानले ३-० गोलले हरायो।
एसियन कप खेलिरहेको दक्षिण एसियाको एक्लो टिम भारतविरुद्ध उज्वेकिस्तानले तीनै गोल पहिलो हाफमा गरेको थियो।
खेलको चौथो मिनेटमा अबोसबेकले हेडमार्फत् गोल गर्दै उज्वेकिस्तानलाई सुरुवाती अग्रता दिलाए।
१८ मिनेटमा इगोर सेर्जिवले उज्वेकिस्तानको अग्रता दोब्बर पारे। पहिलो हाफको इन्जुरी समयमा शेर्जोले उज्वेकिस्तानका लागि तेस्रो गोल गरे।
यसअघि पहिलो खेलमा भारतले अस्ट्रेलियासँग २-० को हार बेहोरेको थियो। अब भारतले समूहको अन्तिम खेलमा सिरियासँग खेल्नेछ।
समूहका शीर्ष दुई टिम अन्तिम १६ मा सिधा पुग्नेछन् भने तेस्रो हुने टिमको पनि अन्तिम १६ को सम्भावना हुनेछ।