एफसी एसियन कपमा भारत उज्बेकिस्तानसँग पराजित भएको छ।
कतारको अहमद बिन अलि स्टेडियममा बिहीबार राति भएको खेलमा भारत उज्बेकिस्तानसँग ३-० गोलले पराजित भएको हो।
उज्बेकिस्तानले तीनवटै गोल पहिलो हाफमा हानेको थियो।
चौथो मिनेटमा अब्बोस्बेक फेजुल्लेभले, १८ औं मिनेटमा आइगोर सेर्गिभले र इन्ज्युरी समयमा शेरजुद नसरूल्लाइभले गोल गर्दा उज्बेकिस्तान पहिलो हाफमा ३-० गोलको बलियो स्थितिमा थियो।
दोस्रो हाफमा प्रयास गरेपनि गोल हुन नसकेपछि भारत पराजित भएको हो। खेल अवधिभर भारतले गोलका लागि ९ प्रहार गर्दा उज्बेकिस्तानले १८ प्रहार गरेको थियो।
समूह ‘बी’मा रहेको भारत समूह चरणको दुवै खेलमा पराजित भएको छ। यसअघि अष्ट्रेलियासँग २-० गोलले पराजित भएको थियो।
भारत रहेको समूहमा अष्ट्रेलिया, उज्बेकिस्तान र सिरिया छन्। सबैले समान २/२ खेल खेल्दा अष्ट्रेलियाले दुवै खेल जितेर ६ अंक बनाएको छ भने उज्बेकिस्तानले एक जित र एक बराबरी खेल्दै ४ अंक बनाएको छ।
सिरियाले एक खेल बराबरी र एक खेलमा हार ब्यहोर्दा १ अंक बटुलेर तेस्रो स्थानमा छ। दुबै खेल हारेको भारत अंकविहीन हुँदै अन्तिममा छ।