स्पेनिस ला लिगामा जिरोना शीर्ष स्थानमै कायम रहन सफल भएको छ।
आइतबार राति जिरोनाले सेभियामाथि ५-१ को उत्कृष्ट जित निकाल्यो। जिरोनाको जितमा डोभयकले ह्याट्रिक गरेका थिए।
यता रियल म्याड्रिड र बार्सिलोनाले पनि आइतबार जित दर्ता गराएका छन्।
रियल म्याड्रिडले अल्मेरियामाथि ३-२ गोलको जित निकाल्यो। दोस्रो हाफको इन्जुरी समयको नवौं मिनेटमा कार्भाजनले गोल गरेपछि रियलले जित निकालेको थियो।
त्यसअघि बेलिङघमले ५७ मिनेटमा पेनाल्टी र भिनिसियस जुनियरले ६७ मिनेटमा गोल गरेपछि रियलले खेलमा बराबरी गर्न सफल भएको थियो।
खेलमा अल्मेरियाले पहिलो हाफमा २-० को अग्रता लिएको थियो।
यता बार्सिलोनाले रियल बेटिसमाथि ४-२ गोलको जित निकाल्यो।
बार्सिलोनाको जितमा फेरान टोरेशले ह्याट्रिक गरे। उनले खेलको २१, ४८ र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए। यस्तै जोआओ फेलिक्सले ९० मिनेटमा एक गोल थपे।
त्यसअघि रियल बेटिसका लागि इस्कोले ५६ र ५९ मिनेटमा दुई गोल गर्दा खेल बराबरीमा आएको थियो।
खेलको अन्तिम मिनेटमा फेलिक्सले अग्रता दिलाउँदा बार्सिलोनालाई राहत मिलेको थियो।
अंक तालिकामा जिरोनाको २१ खेलबाट ५२ अंक छ। दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनाले भने एक एक कम खेल खेलेका छन्। रियलको २० खेलबाट ५१ अंक छ भने बार्सिलोनाले २० खेलबाट ४४ अंक जोडेको छ।