अखिल नेपाल फुटबल संघ (एन्फा) को आज ललितपुरको एक होटलमा विशेष साधारणसभा हुँदैछ।
विशेष साधारण सभामा एउटा एजेन्डमा मात्र छलफल हुनेछ। यसअघि नियुक्त गरिएको लेखा परीक्षकलाई साधारणसभाबाट अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा हुनेछ।
गत पुस २ गते एन्फाको कार्यसमिति बैठकबाट आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षणका लागि एसएलबी एन्ड एसोसिएट्स नियुक्त गर्ने निर्णय भएको थियो।
लेखा परीक्षकको नियुक्ति गर्ने निर्णय अनुमोदनसँगै विशेष साधारणसभा सकिएको छ।
यसअघि कात्तिक २३ गते हेटौंडामा विशेष साधारणसभा भएको थियो। सो साधार सभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई बर्खास्त गर्ने एजेन्डा थियो। तर सो एजेन्डा फेल भएको थियो।
आज साधारणसभा गरेपछि एन्फाले आगामी फागुन १४ गते अर्को साधारसभा गर्नेछ। एन्फाले नियमित साधारणसभा फागुन १४ मा गर्ने कार्यसमितिको बैठकबाट निर्णय गरेको हो।
चार महिनाभित्र तीन साधारणसभा गर्न लागेको विषयमा एन्फाकै केन्द्रीय सदस्यले विरोध गरिरहेका छन्। एन्फाका केन्द्रीय सदस्य अनिल मल्लले साधारणसभा बहिष्कार गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।
'४ महिनामा ३ सभा, लापरवाही कस्को? खर्च र नोक्सानी कति? जवाफदेहिता कस्को? मनोमानी र अवैधानिक गतिविधिको रेकर्ड कायम गरेको ब्यवस्थापनमा साक्षीको रूपमा रमिते भयर सभामा उपस्थिति भइदैन। मेरो अनुपस्थितिले अलिकति भए पनि आर्थिक भार कम हुनेछ। मनोमानी निर्णय लेख्ने कुसंस्कारका दौरान हाजिरी लगाउन र रेडिमेड निर्णयमा साक्षी बस्दा वा नबस्दाको कुनै सार छैन। सबै साथीहरुसँग नियमित साधारण सभामा भेट हुनेछ,' उनले लेखेका छन्।