२३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टार क्लबले विजयी सुरूवात गरेको छ।
मंगलबार भएको उद्घाटन खेलमा थ्रीस्टारले आयोजक सहारा क्लबलाई २-१ गोलले पराजित गर्यो।
थ्रीस्टारको जितमा योगेश गुरुङले पाँचौ र अन्जल महर्जनले ५९ मिनेटमा गोल गरे। सहाराका लागि आसिस गुरुङले २३ मिनेटमा बराबरी गोल फर्काए।
प्रतियोगितामा आयोजकसहित १२ टिमले भाग लिएका छन्। विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्। उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ।
प्रिक्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु २० हजार दरले र क्वाटरफाइनलमा विजेता र पराजित दुवै टोलीलाई रु ३० हजार तथा सेमिफाइनलमा पुग्ने टोलीलाई रु ५० हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए।
यसैगरी ‘म्यान अफ दी म्याच’लाई नगद रु १० हजारसहित मेडल पुरस्कार पाउनेछन्। यस वर्षदेखि क्लबले प्रत्येक खेलमा दुई जनालाई भाग्यशाली दर्शक पुरस्कार रु पाँच हजारका दरले प्रदान गर्ने भएको छ।
प्रतियोगितामा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सङ्कटा क्लब, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, थ्रीस्टार क्लब, पारो फुटबल क्लब भुटान, नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लबको टोली सहभागिता जनाउने छन् । अघिल्लो संस्करणमा सङ्कटा क्लबले उपाधि जितेको थियो भने भुटनिज युथ स्पोर्टस् क्लब मिनोसोटा अमेरिका उपविजेता बनेको थियो।