स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
गएराति सान मेम्समा एथ्लेटिक बिल्बाओसँग २-४ गोलको हार ब्यहोरेपछि कोपा डेल रेको जारी सिजनमा बार्सिलोनाको यात्रा टुंगिएको हो।
निर्धारित ९० मिनेटमा २-२ बराबरी गोल गरेपछि अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा इनाकी विलियम्स र निको विलियम्सले गोल गरेपछि बार्सिलोना २-४ गोलले पराजित भएको हो।
त्यसअघि खेलको पहिलो मिनेटमै बिल्बाओका गोर्क गुरूजेटाले गोल गरेका थिए। २० औं मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बराबरी गरेका थिए। ३२ औं मिनेटमा लमाइन यमलले गोल गर्दा पहिलो हाफमा बार्सिलोनाले २-१ गोलले अग्रता लिएको थियो।
दोस्रो हाफको ४९ औं मिनेटमा बिल्बाओका ओइहन स्यान्चेटले गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए।
त्यसपछि दुबैतर्फबाट गोल हुन नसकेपछि अतिरिक्त समय खेलाइएको थियो।
खेलमा बिल्बाओले बार्सिलोनाविरूद्ध गोलका लागि २९ प्रहार गरेको थियो। बार्सिलोनाले भने ७ वटा प्रहार गर्यो।