आयोजक लोयल्टी ‘बी’ र काभ्या १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ५–० गोलले सहजै पराजित गर्यो।
लोयल्टी ‘बी’ का साहिल राईले ह्याट्रिक गरे भने विंगु थापाले २ गोल थपे । रिलायन्सका अनुपराज चौहान ‘म्यान अफ द म्याच’ घोषित भए।
काभ्याले दोहोरो जित निकाल्यो । काभ्याले सिद्धार्थ बनस्थलीलाई १–० गोलले हरायो । रौनक बस्नेतले निर्णायक गोल गरे । सिद्धार्थका ऋजेन्द्र पोखरेल ‘म्यान अफ द म्याच’ चुनिए । अर्को खेलमा काभ्याले रिलायन्सलाई १–० गोलले हराउदा दिप्सन श्रेष्ठले निर्णायक गोल गरे । रिलायन्सका दिवासन राई ‘म्यान अफ द म्याच’ बने ।
चेल्सी वल्र्ड स्कुल र नेपाल पुलिस स्कुलले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । पुलिसले मनास्लुलाई १–० गोलले पाखा लगायो। पुलिसका सनिश आले मगरले गोल गरे । मनास्लुका दिप्सन अधिकारी ‘म्यान अफ द म्याच’ ठहरिए । चेल्सी विरुद्धको खेलमा भने पुलिस ३–० ले चुक्यो । चेल्सीका दर्शित थापा, सुवास तामाङ र रोविन श्रेष्ठले समान १–१ गोल गरे । पुलिसका सुदिप तामाङ ‘म्यान अफ द म्याच’ भए।
मंगलबारको खेल समाप्तिसंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल पिस प्वाइन्ट र पुलिस, काष्ठमण्डप र काभ्या, चेल्सी र इस्टपोल तथा लोयल्टी ‘बी’ र ब्रम्हकुञ्जबीच हुनेछ ।