भारतको महाराष्ट्र र झारखण्ड विधान सभा चुनावको परिणाम धमाधम सार्वजनिक भइरहेको छ।
२८८ सिटमध्ये शनिबार साँझ ५ बजेसम्म १०४ सिटको नतिजा आइसकेको छ। जसअनुसार भारतीय जनता पार्टी नेतृत्वको महायुति गठबन्धनले ८५ सिट जितेको छ।
उसले मतगणना भइरहेको १४७ स्थानमा अग्रता समेत लिइरहेको छ।
कंग्रेस नेतृत्वको महाविकास अघाडि गठबन्धनले १८ सिटमात्रै जितेको छ भने २९ सिटमा अग्रता लिएको छ।
महाराष्ट्रमा बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको प्रारम्भिक चरणदेखि नै महायुती गठबन्धनले अग्रता लिएको थियो। साँझसम्मको स्थितिले महाराष्ट्रमा महायुती गठबन्धनले दुई सजिलै बहुमत ल्याउने निश्चित रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
महाराष्ट्रमा सरकार गठनका लागि १४५ सिट आवश्यक हुन्छ। महायुतीले जितेको र अग्रता लिएको सिट जोड्दा २३२ पुग्छ। त्यो भनेको दुई तिहाईभन्दा बढी हुन जान्छ।
पाँच महिनाअघि भएको लोक सभा चुनावमा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले महाराष्ट्रका ४८ मध्ये ३० सिट जितेको थियो। भाजपा नेतृत्वको एनडिए गठबन्धनले १२ सिट मात्रै जितेको थियो।
लोकसभा चुनावको परिणामलाई आधार मानेर यसपालि विधानसभामा कांग्रेस आई ठूलो पार्टी बन्ने आकलन थियो तर परिणाम त्यसको उल्टो आएको छ।
बहुमत पक्का भएपछि महाराष्ट्रमा मुख्यमन्त्री को बन्लान् भन्ने चर्चा सुरू भएको छ। मुख्यमन्त्रीका लागि तीन पात्रलाई प्रमुख दाबेदारी मानिएको छ।
अहिलेका मुख्यमन्त्री एवम् शिवसेना पार्टीका नेता एकनाथ शिन्दे, उपमुख्यमन्त्री एवम् भाजपा नेता देवेन्द्र फडनभिस र अर्का उपमुख्यमन्त्री एवम् नेश्नलिस्ट कंग्रेसका नेता अजित पवारमध्ये एकजना मुख्यमन्त्री बन्नेछन्।
वर्तमान मुख्यमन्त्री शिन्देले चुनावको सबै परिणाम आएपछि मुख्यमन्त्री को बन्ने भन्नेबारेमा तीन जना बसेर छलफल गर्ने र साझा निष्कर्षमा पुग्ने बताएका छन्।
'मुख्यमन्त्री को भन्ने विषयमा विवाद हुँदैन। छलफल गरेर निर्णय लिन्छौं। जसरी चुनावअघि छलफल गरेका थियौं। एकजना मुख्यमन्त्री बन्दा नबन्ने दुई जना दुःखी हुनेछैनन्,' भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा शिन्देले भनेका छन्।