नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले नेपालका लागि ५०औं अन्तर्राष्ट्रिय गोल बिहीबार पूरा गरिन्।
साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपमा इराकविरुद्ध नेपालले ५-० को जित हात पार्दा पाँचै गोल साम्बाले गरिन्। पाँच गोल गरेसँगै उनले ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेका हुन्।
नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता साम्बाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दुई जित निकालेर वाफ च्याम्पियनसिपमा अन्तिम चारमा स्थान पक्का गर्यो।
समूहमा नेपालले अन्तिम खेलमा शनिबार प्यालेस्टाइनसँग खेल्नेछ। नेपाल र प्यालेस्टाइन अन्तिम चारमा पुगिसकेका छन्।
अर्को समूहबाट जोर्डन र लेबनानले अन्तिम चारमा स्थान बनाएका छन्। अब नेपालले सेमिफाइनलमा जोर्डन वा लेवनान मध्ये एक टिमसँग खेल्नेछ।
नेपालका लागि ५०औं अन्तर्राष्ट्रिय गोल पूरा गरेसँगै साम्बाले नेपाली टिम प्रतियोगिताको उपाधि जित्न केन्द्रित हुने बताएकी छिन्।
‘देशको लागि ५० गोल पूरा गरेको छु। यो यात्रामा मलाई सहयोग र समर्थन गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद। यो यात्रामा माया ममता देखाउने फुटबल समर्थकलाई हृदयदेखि धन्यवाद,’ साम्बाले सामाजिक सञ्जालमार्फत् भनेकी छिन्, ‘यो प्रतियोगितामा हामी उपाधि जित्न आएका छौं। हामी उपाधिका लागि केन्द्रित हुनेछौं। हाम्रा महत्वपूर्ण खेल बाँकी छन्।’
यो पनि पढ्नुहोस् :- दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर 'साम्बा'को युरोपियन फुटबलमा उडान