केन्द्रीय कार्यसमितिका बहुमत सदस्यको विरोध र बहिष्कारका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको छ।
एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार साधारणसभाले ७९/८० अडिट रिपोर्ट पारित गर्ने निर्णय, २०८०/८१ को बजेट, लेखा परिक्षक तथा अनुपाल समितिको कार्यकाल थप गर्ने निर्णय अनुमोदन गरेको छ।
उनका अनुसार २०८०/८१ कोअनुमानित बजेट ६७ करोड ६७ लाख रुपैयाँ बढी छ। यस्तै साधारणसभाले बार्षिक क्यालेन्डर पनि पास गरिएको छ।
एन्फाको १०५ प्रतिनिधिमध्ये ७४ जना साधारणसभामा उपस्थित भएको प्रवक्ता शाहले जानकारी दिए।
एन्फा साधारणसभाको बन्द सत्रअघि विवाद, बहुमत केन्द्रीय सदस्यले गरे बहिष्कार
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाको बन्द सत्र सुरू हुनुअघि विवाद भएको थियो।
विवादका कारण एन्फा कार्यसमितिको २१ मध्ये ११ जनाले उद्घाटन सत्रमा समेत भाग लिएनन्। १० जनाले विरोध गर्दै भाग नलिदा एक उपाध्यक्ष भने सम्पर्कविहीन छन्।
उपाध्यक्ष दावा लामा लागुऔषध मुद्दामा दोषी ठहर हुँदै ५ वर्ष सजाय निर्धारण भएको सार्वजनिक भएदेखि सम्पर्कविहिन छन्।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन सत्रको औपचारिक सुरु गरेका थिए।
कार्यसमितिबाट पास नभएको एजेन्डा साधारणसभामा पेश गर्दै अनुमोदन गर्न लागेको भएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय दीर्घबहादुर केसी र विराटजंग शाही, केन्द्रीय सदस्यहरु रमेश व्यन्जनकार, अनिल मल्ल, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी र रुपेश अधिकारी बहिष्कार गरेका हुन्। उनीहरूले आइतबार एन्फामा अहसमति पत्र दर्ता गराएका थिए। केन्द्रीय सदस्य पेमा डोल्मा लामाले पनि आइतबार इमेलमार्फत् असहमति पत्र दर्ता गरेकी थिइन्।
यस्तै बी डिभिजनका १३ क्लबले पनि बन्द शत्र बहिष्कार गरेका छन्।
हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले नेतृत्वले सहमतिको बाटो नरोजी जबरजस्ती बन्द शत्र सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्। उनले विवादको विषयमा छलफल गर्नका लागि एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङ तयार नभएको पनि बताए।
१० जना केन्द्रीय सदस्यले यसअघि भएको केन्द्रीय समिति बैठकको निर्णयभन्दा बाहिर रहेर साधारणभाका लागि विषयसूची पठाएको भन्दै आपत्ति जनाउँदै एन्फालाई पत्र पठाएका थिए। विशेषगरी लेखा परीक्षण प्रतिवेदन पास गर्ने एजेन्डा, आर्थिक नियमावली र कार्यविधि पास गर्ने एजेन्डामा केन्द्रीय सदस्यहरुको आपत्ति छ।
अहिले एन्फामा अध्यक्षसहित १० जना मात्र नेतृत्वको पक्षमा छन्। बाँकी १० जना विपक्षमा छन्।अध्यक्षले बराबरी भए मात्र मत हाल्न पाउने व्यवस्थाअनुसार एन्फा नेतृत्व अल्पमत परेको छ।
यता गोरखा जिल्ला फुटबल संघको प्रतिनिधि भएर साधारणसभा भाग लिन आएका अमित खत्रीले पनि आफ्नो अहसमति जनाएका छन्।
उनले विभिन्न तर्क गर्दै एन्फाका पदाधिकारीमाथि लागेको आरोपबारे स्पष्ट पार्न माग गरेका छन्। साथै उनले एन्फाको कार्यशैली प्रति पनि प्रश्न उठाएका छन्।