अखिल नेपाल फुटबल संघ (एन्फा) आइतबार बसेको आपतकालीन बैठकमा गत असोज १२ गते मकावनपुरको इन्द्रसरोवर गाँउपालिका- ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीका खेलाडी पहिरोमा पुरिएर निधन भएको विषयमा छलफल भएको छ।
खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योञ्जन एकेडेमीबाट अन्यत्र जाने क्रममा बाटोमा पहिरोमा परी निधन भएको थियो।
एन्फाले सो घटनामा निधन भएका खेलाडीका प्रत्येक परिवारलाई राहत स्वरुप आठ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकलाई सहयोग गर्नका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ।
यस्तै एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीहरुको स्मृतिमा सञ्चालन गरिने भएको छ।
दिवंगत खेलाडीहरुको सालिक वा स्मृती स्तम्भ निर्माणका लागि वात्सल्यदेवी माविमा पहल गरी निर्माण गराइने भएको छ।
खेलाडीका परिवारको थप राहतको लागि फिफा र एएफसीलाई पनि अनुरोध गर्ने पनि एन्फाले निर्णय गरेको छ।
घटनाबारे सत्य तथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेश गर्ने गरी समिति गठन गरिएको छ जसमा विकास नारायण श्रेष्ठ (एन्फा केन्द्रिय सदस्य) संयोजक छन्। टिका राम लामा (एन्फा केन्द्रिय सदस्य) र दामोदर भट्टराई (एन्फा सहायक महासचिव) समितिका सदस्य छन्।
यद्यपी यो निर्णयमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले असहमति जनाएका छन्। खड्का अनुसार ४ घन्टाको सूचनामा भिडियो कन्फरेन्समार्फत् छानविन समिति गठन गर्ने निर्णयमा उनले सहमति जनाएका हुन्।
एन्फा र व्यवस्थापन समितिको लापरवाहीको कारणले घटना घटेको भनि प्रश्न उठिरहेको, छानविन गर्नु पर्ने व्यक्ति नै समितिमा रहेको र सो घटना सम्बन्धी छानविन गर्न संसदीय समिति समेत गठन भइसकेको अवस्थामा समितिको औचित्य नहुने हुँदा खड्काले आफ्नो असन्तुष्टि रहेको बताएका छन्।