प्रथम शहीद लखन थापा मगर कप फुटबलको उपाधि दाङ घोराहीको चौघेरा स्पोर्ट्स एकेडेमीले जितेको छ।
नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा नेपालका प्रथम शहीद लखन थापा मगरको १४८ औं स्मृतिमा घोराहीमा शनिबार भएको फाइनलमा खेलमा बिएफएललाई २–० गोलले पराजित गर्दै चौघेरा स्पोर्ट्स एकेडेमीले उपाधि जितेको हो।
घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा चौघेरा स्पोर्ट्स एकेडेमीले २ गोल गर्दै उपाधि उचालेको हो।
टिमलाई जित दिलाउन दुवै गोल सागर पुनले गरेका थिए।
प्रतियोगितामा विजेता बनेको चौघेरा स्पोर्ट्स एकेडेमीले नगद एक लाखसहित सिल्ड, मेडल र प्रमाण पत्र जितेको छ।
उपविजेता बिएफएलले नगद ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यो पुरस्कार मगर दिवसका दिन फागुन १५ गते प्रदान गरिने प्रतियोगिता सहसंयोजक अशोक घर्तीले बताए।
प्रतियोगिता अन्तर्गत विधागत उत्कृष्ट खेलाडीलाई पनि सोही दिन पुरस्कृत गरिने छ।
टीमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका चौघेरा स्पोर्ट्स एकेडेमीका सागर पुन प्लेयर अफ द म्याच घोषित भएका थिए। यसअघि चौघेरा स्पोर्ट्स एकेडेमीले युएनबिसीलाई ४–१ गोल अन्तरले तथा दोस्रो सेमिफाइनलमा बिएफएलले नवलपुर फुटबल एकेडेमीलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेका थिए।
प्रतियोगितामा दाङसहित सल्यान, रोल्पा जिल्लाका गरी कुल १६ टिमको सहभागिता रहेको थियो।