आफ्ना फरवार्ड डिएगो जोटाको निधनपछिको पहिलो खेलमा पोर्चुगलले आर्मेनियालाई ५-० गोल अन्तरले पराजित गरेको छ। यो जित पोर्चुगलका लागि भावनात्मक रह्यो, जसमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।
गत जुलाईमा कार दुर्घटनामा निधन भएका लिभरपुलका पोर्चुगिल फरवार्ड जोटा र उनका भाइ आन्द्रे सिल्भाको सम्झनामा स्टेडियममा खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिएको थियो।
विश्वकप छनोट अन्तर्गतको यस खेलमा जोआओ फेलिक्सले १०औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। त्यसपछि ४० वर्षीय रोनाल्डोले २१औँ मिनेटमा गोल गर्दै अग्रता २-० मा पुर्याएका थिए।
२१ मिनेटमा भएको यो गोल जोटाले पोर्चुगलका लागि लगाउने २१ नम्बरको जर्सीसँग मेल खानु थप भावनात्मक रह्यो।
‘हामी सबै धेरै खुसी छौँ, किनभने यसले जोटा हामीसँग छन्, उनी त्यहीँ थिए, र त्यो क्षण, रोनाल्डोको गोल, सम्भव भयो भनेर देखाउँछ’ लेफ्ट-ब्याक नुनो टाभारेसले भने, ‘उनी सधैँ हामीसँगै रहनेछन्, जुन आज स्पष्ट देखियो।’
जोआओ क्यान्सेलोले तेस्रो गोल गरेपछि रोनाल्डोले लामो दूरीबाट उत्कृष्ट प्रहार गार्फत् आफ्नो दोस्रो गोल गरे। यससँगै अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या १४० पुगेको छ।
जोआओ फेलिक्सले खेलको दोस्रो हाफमा आफ्नो दोस्रो गोल गर्दै पोर्चुगलको फराकिलो जित सुनिश्चित गरे।