उज्वेकिस्तान र जोर्डनले पहिलो पटक फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गरेका छन्।
दुवै टोलीले एसिया छनोको तेस्रो चरणमार्फत् सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वपमा स्थान सुरक्षित गरेका हुन्।
गए राति अबुधाबी सम्पन्न खेलमा संयुक्त अरब इमिरेट्ससँग गोलरहित बराबरी खेल्दै उज्वेकिस्तानले एएफसी समूह ‘ए’मा शीर्ष दुई स्थानमा रहँदै विश्वकपको टिकट पक्का गरेको हो ।
सन् १९९१ मा स्वतन्त्रता प्राप्त गरेपछि उज्वेकिस्तानले आठौं प्रयासमा विश्वकपमा स्थान सुरक्षित गरेको हो। यसअघि २००६, २०१४ र २०१८ मा नजिक पुगे पनि अन्तिम चरणमा पुग्न सकेको थिएन।
समूहमा उसले ६ खेलमा ३ जित, ३ बराबरी गर्दै १२ अंक जोड्यो। यसअघि उज्वेकिस्तानले ईरानसँग २–२ को बराबरी, उत्तर कोरियामाथि १–० को जित, किर्गिस्तानमाथि ३–२ को जित र युएईसँगको बराबरीले उनलाई विश्वकपमा पुर्यायो।
जोर्डनले भने ओमानविरुद्धको निर्णायक खेलमा जित निकाल्दै विश्वकपमा स्थान बनायो। अली ओलवानको ह्याट्रिकको मद्दतले ३–० को जित दर्ता गर्दै जोर्डनले एएफसी समूह बीमा शीर्ष दुई स्थानमा रहँदै विश्वकपको टिकट पक्का गरेको हो ।
जोर्डनले १९९४ देखि विश्वकप छनोटमा भाग लिँदै आएको भए पनि यसअघि कहिल्यै पनि अन्तिम चरणमा पुग्न सकेको थिएन।
जोर्डनले समूहमा ६ खेलमा ४ जित, १ बराबरी र १ हारसहित १३ अंक जोड्यो।
फिफा विश्वकप २०२६ मा लागि एसियाबाट अहिलेसम्म पाँच टोलीहरूले स्थान सुरक्षित गरेका छन्। यसअघि जापान, ईरान र दक्षिण कोरियाले स्थान बनाएका थिए।
२०२६ को विश्वकपमा एसियाका लागि ८ वटा सिधा कोटा छ भने १ वटा अन्तरमहादेशीय प्लेअफ स्थान उपलब्ध छ। बाँकी ३ स्थानहरूका लागि छनोट प्रक्रिया जारी छ।