एएफसी एसियन कप २०२६ अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ।
मंगलबार साँझ भएको खेलमा नेपालले लाओसविरूद्ध पराजय भोगेको हो। छनोटको समूह ‘एफ’ को खेलमा नेपालले लाओसको राष्ट्रिय रंगशालामा २-१ गोलको हार ब्यहोर्यो।
खेलको १३औं मिनेटमा नेपाल घरेलु टोलीविरूद्ध पछि पर्यो। लाओसका दमोथले कर्नर बलमा अनमार्क अवस्थामा हेडमार्फत् गोल गरे।
४९औं मिनेटमा लाओसका पिटरले उत्कृष्ट गोल गर्दा नेपाल २-० गोलले पछि परेको थियो।
नेपालले ७३ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काउन सफल भए। प्राप्त पेनाल्टीमा मनिष डाँगीले गोल गरेका थिए।
नेपालले लाओसविरूद्ध पहिलो पटक हार ब्यहोर्दै खराब इतिहास आत्मसात गर्न बाध्य भयो। यसअघिका ६ खेलमा नेपालले ४ जित र २ बराबरी खेलको थियो। आफ्नो सातौं खेलमा नेपाललाई पराजित गरेर लाओसले भने इतिहास रच्यो।
यससँगै नेपालले छनोटमा लगातार दोस्रो खेलमा पराजय भोग्यो। पहिलो खेलमा नेपालले मलेसियासँग २-० गोलको हार ब्यहोरेको थियो। लाओसले भने पहिलो जित निकाल्यो। उसले पहिलो खेलमा भियतनामसँग ५-० ले हारेको थियो। समूहको विजेता मात्र एसियन कपमा पुग्नेछ।
नेपालले अब तेस्रो खेलमा अक्टोबरमा भियतनामसँग खेल्नेछ।