आइतबार एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणमा जोर्डनको इतिहाद क्लबले मलेसियाको केलाना युनाइटेडलाई ४-० ले हराउँदै समूह ‘सी’ मा दोस्रो स्थान हासिल गरेको छ।
यो जितले इतिहादले समग्रमा उत्कृष्ट दोस्रो स्थानमा रहने टोलीका रूपमा अर्को चरणमा प्रवेश पाउन भने सकेन।
खेल नेपाली मिडफिल्डर प्रिति राईका लागि विशेष रह्यो। यसअघिका दुई खेलमा गोल गर्न नसकेकी प्रितिले केलाना युनाइटेडविरुद्ध आफ्नो एएफसी महिला च्याम्पियन्स लिगमा डेब्यू गोल गर्न सफल भइन्। खेलको ६८ औं मिनेटमा सिदालिया कुटाले दिएको सटीक क्रसलाई प्रितिले बक्सभित्रबाट भलीमार्फत जाली चुमाएकी थिइन्।
इतिहाद क्लबले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै केलाना युनाइटेडलाई दबाबमा राख्यो। युजेनिया टेट्टे र प्रिति राईले लगातार केलानाको रक्षापंक्तिलाई समस्यामा पारिरहेका थिए। खेलको २३ औं मिनेटमा इनास अलजामाएनले रोजबहान फ्राइजलाई दिएको उत्कृष्ट पासलाई फ्राइजले केलानाका गोलकिपर नुर्दियाना रोस्टमलाई छलाउँदै गोलमा परिणत गरिन्।
३१ औं मिनेटमा केलाना युनाइटेडकी शालिका ओरेलियाले आफ्नै पोस्टमा फर्काएपछि इतिहादले अग्रता दोब्बर बनायो। खेलको अन्त्यतिर ८७ औं मिनेटमा शालिकाले प्रितिलाई फाउल गरेपछि इतिहादले पेनाल्टी पायो, जसलाई कुटाले गोलमा परिणत गर्दै इतिहादको ४-० को शानदार जित सुनिश्चित गरिन्।