इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले न्युकासल युनाइटेडका स्ट्राइकर अलेक्जेन्डर इसालाई १२५ मिलियन पाउन्डमा सम्झौता गर्ने भएको छ। यो प्रिमियर लिगको कीर्तिमानी रकमको सम्झौता हो।
बिबिसी स्पोर्ट्सका अनुसार स्विडेनका अन्तर्राष्ट्रिय खेलाडी इसाक र लिभरपुलबीचको सम्झौता पक्का भएको हो।
न्युकासलका अनुसार यो सम्झौता एड-अनसहित १३० मिलियन पाउन्डसम्म पुग्न सक्छ।
इसाकले सोमबार मेडिकल जाँच गराएपछि ६ वर्षको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।
लिभरपुलले अगस्टमा ११० मिलियन पाउन्डको प्रारम्भिक प्रस्ताव गरे पनि अस्वीकार गरिएको थियो।
२५ वर्षीय खेलाडी इसाकको सम्झौता ट्रान्सफर विन्डोको अन्तिम दिन समाप्त हुने भएको हो।
लिभरपुलले यो सिजनमा जर्मनीका अट्याकिङ मिडफिल्डर फ्लोरियन विर्ट्जलाई १०० मिलियन पाउन्डको प्रारम्भिक सम्झौतामा अनुबन्ध गरेर आफ्नो क्लब ट्रान्सफर रेकर्ड तोडेको थियो।
इसाकको आगमनले त्यो खर्चलाई पनि उछिनेको छ। इसाकसहित आधा दर्जन भित्र्याएपछि क्लबको खर्च एड-अन शुल्क बिना नै लगभग ४१६ मिलियन पाउन्ड पुर्याउनेछ।
इसाक २०२२ मा ला लिगा क्लब रियल सोसिडाडबाट ६० मिलियन पाउन्डमा न्युकासलमा आबद्ध भएका थिए। उनले गत सिजन सबै प्रतियोगिताहरूमा ४२ खेलमा २७ गोल गरेका थिए।