नेपाल र बंगलदेशबीच आगामी शनिबार र अर्को साताको मंगलबार हुने दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट एन्फा आफैँले टिकट बिक्री गर्ने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे पाँच बजे सुरु हुनेछ भने टिकटको मूल्य भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ तोकिएको छ। ८ हजार टिकट बिक्री गरिने तथा भिआइपीतर्फ १२ सय मात्र बेचिने एन्फाको भनाइ छ।
सो टिकट अनलाइन र रंगशालामै गएर खरिद गर्न सकिनेछ।
यसअघि एसियाली फुटबल महासंघले रंगशालाको मापदण्डमा प्रश्न उठाए पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि दुई देश सहमत भए मापदण्डले असर नगर्ने अखिले नेपाल फुटबल संघ (एन्फा) को भनाइ छ।
प्रतियोगिताको खेल एडी रिलिजको युट्युब च्यानल र एक्सन स्पोर्ट्स टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। खेलका लागि बंगलादेशको टोली बुधबार नेपाल आइपुग्नेछ।
प्रतियोगिताको बजेट १ करोड २७ लाख रूपैयाँ रहेको छ।
एएफसी एसियन कप छनोटमा बाँकी खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन्।
नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।
नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो।
नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ। त्यसको एक सातापछि नेपालमा भियतनामले खेल्ने तालिका भए पनि सो खेल मैदानका कारण नहुने भएको छ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), दीप कार्की, टिकेन्द्र थापा, अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन बिष्ट, अरिक बिष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनीष डाँगी, रन्दीप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सृजन राज, सुभाष ठकुरी बम, सुमन श्रेष्ठ, योगेश गुरुङ
मुख्य प्रशिक्षक: म्याट रस