अमेरिकी क्लब इन्टर मायामीका फरवार्ड लुइस सुआरेजले सियाटल साउन्डरसविरुद्धको लिग्स कपको फाइनल खेलका क्रममा सियाटल एक कोचिङ स्टाफलाई थुकेका छन्। खेल सियाटलले ३-० ले जितेको थियो।
फुल-टाइमको सिठी बजेको केही समयपछि दुवै टोलीका खेलाडीबीच झगडा हुँदा यो घटना भएको थियो।
३८ वर्षीय सुआरेजले सियाटलका मिडफिल्डर ओबेड भार्गासको घाँटी समातेका थिए। त्यसपछि सर्जियो बुस्केट्सले मेक्सिकन अन्तर्राष्ट्रिय खेलाडी भार्गासको चिउँडोमा हिर्काएका थिए।
केही क्षणपछि सुआरेज सियाटलका एक स्टाफसँग भनाभनमा उत्रिए र टिममेट ओस्कर उस्तारीले उनलाई रोक्नुअघि कोचिङ स्टाफको दिशामा थुकेको देखिएको थियो।
झगडाबारे सियाटलका एक अधिकारीले भने, ’दुर्भाग्यवश यसले सियाटल साउन्डरसको उत्कृष्ट प्रदर्शनबाट केही ध्यान हटाउनेछ। उनीहरूका खेलाडी निराश थिए र त्यसले मैदानमा नहुनुपर्ने केही घटनाहरू निम्त्यायो।’
इन्टर मायमीका प्रशिक्षक जाभियर मास्चेरानोले भनेका छन्, ‘मसँग भन्नलाई केही छैन किनभने म धेरै टाढा थिएँ र के भयो देखिनँ। कसैलाई पनि यस्ता प्रकारका कार्य मन पर्दैन। हुनसक्छ उक्साहट थियो, तर मलाई के भयो थाहा छैन।’
सुआरेजले यस्तो हर्कत गरेको यो पहिलो पटक होइन। उनी आफ्नो करियरमा धेरै विवादास्पद घटनामा संलग्न छन्।
सन् २०११ मा इंग्लिस क्लब लिभरपुलमा हुँदा उनले म्यानचेस्टर युनाइटेडका प्याट्रिस इभ्रालाई जातीय दुर्व्यवहार गरेकोमा दोषी ठहर भएपछि आठ खेलको प्रतिबन्ध लगाइएको थियो।
उनले अयाक्स, लिभरपुल र उरुग्वेका लागि खेल्दा तीन अलग-अलग टोक्ने घटनाका लागि पनि प्रतिबन्ध भोगेका थिए।