अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीच आगामी शनिबार र मंगलबार अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ।
एन्फाले दुई खेलको शृङ्खला बताएको यी खेलहरू फिफा इन्टरनेसनल विन्डोअन्तर्गत हुन लागेका हुन्।
साँझ ५:३० बजेदेखि सुरु हुने यी दुई खेल दशरथ रंगशालामा आयोजना गर्न एन्फाले फिफाबाट स्वीकृति गराएको छ।
तर यही रंगशालामा एसियाली फुटबल महासंघ (एएफसी) ले भने एसियन कप छनोटअन्तर्गतका खेलहरू गराउन अनुमति दिएको छैन।
आगामी असोजमा भियतनाम र कात्तिकमा मलेसियाविरुद्धको खेलका लागि एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गरेको थियो।
‘यहाँ कुनै अन्तर्राष्ट्रिय खेल हुन नसक्ने भन्ने होइन,’ एन्फाका प्रतियोगिता विभाग प्रमुख सञ्जीव मिश्रले भने, ‘हामीले पछिल्लो समय एएफसीले तोकेको मापदण्ड मात्र पूरा गर्न नसकेका हौँ। पछिल्ला वर्षहरूमा एएफसीले रंगशालाका लागि नयाँ मापदण्ड ल्याएपछि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउन नसकेको हो। तर यही साफ महिला क्लब च्याम्पियनसिप र साफ च्याम्पियनसिपका खेल हुने तय भइसकेको छ।’
एएफसीले मान्यता नदिए पनि फिफाले अन्तर्राष्ट्रिय खेलका लागि मान्यता दिएपछि नेपाल र बंगलादेशबीच खेल हुन लागेको हो।
खेल्न आउने देश सहमत भएको खण्डमा अन्तर्राष्ट्रिय खेल नरोकिने प्रचलन छ।
एएफसीले दशरथ रंगशालाको मैदानको पानी सोस्ने प्रणाली राम्रो नभएको, समर्थक र खेलाडी आउने-जाने एउटै गेट भएको (मिक्स जोन नभएको) र फ्लडलाइटमा समस्या भएको भन्दै अन्तर्राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको थियो। समग्रमा एएफसीले दशरथरंगशालाको ‘रिनोभेसन’ गर्न सुझाव दिएको छ।
सरकारको मातहतमा रहेकोरंगशालाका लागि सरकारले यो वर्ष बजेट छुट्याएकाले छिट्टै स्तरउन्नति हुने एन्फाको विश्वास छ।
नेपाल र बंगलादेशबीचको खेलका लागि यो पटक एन्फाले १० हजार टिकट बिक्री गर्दैछ। साधारणतर्फ ९ हजार (पाँच सय रूपैयाँको टिकट) र भिआइपीतर्फ १ हजार (एक हजार रूपैयाँको टिकट) टिकट बिक्री गर्ने एन्फाको भनाइ छ। टिकटहरू खल्ती एपबाट खरिद गर्न सकिनेछ।
खेलका लागि बंगलादेशको टोली नेपाल आइसकेको छ। दुई म्याचको शृङ्खलाको समग्र नतिजा बराबरीमा भएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउट गरी विजेता घोषित गरिने एन्फाको भनाइ छ।
एएफसी एसियन कप छनोटमा बाँकी खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन्।
नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।
नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो।
नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ। त्यसको एक सातापछि नेपालमा भियतनामले खेल्ने तालिका भए पनि सो खेल मैदानका कारण नहुने भएको छ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), दीप कार्की, टिकेन्द्र थापा, अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन बिष्ट, अरिक बिष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनीष डाँगी, रन्दीप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सृजन राज, सुभाष ठकुरी बम, सुमन श्रेष्ठ, योगेश गुरुङ
मुख्य प्रशिक्षक: म्याट रस