अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गको फुटसल समितिका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन्।
उनले एन्फा सचिवालयको लापरवाहीका कारण १० हजार डलर जरिवाना परेको भन्दै राजीनामा बुझाएका हुन्।
यसअघि एएफसी फुटसल एसियन कप छनोटबाट नाम फिर्ता लिएपछि एएफसीले नेपाललाई एक संस्करणमा भाग लिनबाट बञ्चित गराउनुका साथै १० हजार अमेरिकी डलर जरिवाना गराएको थियो।
‘एएफसी फुटसल कप २०२६ छनोटमा नेपालको तर्फबाट भाग नलिएपछि कारबाही गरिएको खबर मिडियामार्फत् जानकारी पाउँदा मलाई एकदम गहिरो पीडा महुसस भएको छ,’ उनले भने, ‘फुटसल विभाग प्रमुखको रुपमा यस प्रतियोगिता सम्बन्धित सबै काम कारबाही समयमा नै सचिवालयमा बुझाउँदा सचिवालयले फुटसलको लागि कुनै पनि बजेट विनियोजन नगरेको कारण प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भएको जानकारी गराउन चाहन्छु। सचिवालयको यस्तो लापरवाहीको कारणले नेपाललाई कारबाही स्वरुप १० हजार डलर जरिवाना र अर्को पटकको छनोटमा समेत भाग लिन नपाउने गरेकाले गैह्रजिम्मेवार सचिवालयअन्तर्गत पदमा रहेर काम गर्न नसकिने हुनाले राजीनामा दिएको जानकारी गराउँछु।’
यसअघि एन्फालाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचारसंहिता समितिले कारबाही गरेको थियो।
समितिको गत अगस्ट २१ बसेको बैठकले नेपाललाई कारबाही गरेको विवरण एएफसीले आफ्नो वेबसाइटमा राखेको छ।
एएफसी फुटबल एसियन कप इन्डोनेसिया २०२६ को छनोटबाट नाम फिर्ता लिएको भन्दै एन्फामाथि कारबाही गरिएको थियो।
प्रतियोगिताको नियमअनुसार नाम फिर्ता खेल सुरु हुनुभन्दा १०६ दिनअघि मात्र पाइन्छ। तर एन्फाले यो नियम तोडेपछि समितिले नेपाललाई कारबाही गरेको हो।
यो नियम तोडेको एन्फाले स्वीकार समेत गरेको छ। गल्ती स्वीकार गरेसँगै नेपाललाई अर्को संस्करणको एएफसी फुटसल एसियन कपमा भाग लिनबाट बञ्चित गइएको छ। यस्तै एन्फालाई १० हजार अमेरिकी डलर समेत जरिवाना गरिएको छ।
यो जरिवाना एन्फाले सेप्टेम्बर २० सम्ममा तिर्न पर्नेछ।
फुटसल एसियन कपको छनोट २० सेप्टेम्बरदेखि सुरू हुँदैछ। छनोटमा ३१ देशले विभिन्न आठ समूहमा प्रतिस्पर्धा गर्दैछन्। जसबाट १५ टोली छनोट हुनेछन्। आयोजक इन्डोनेसिया छनोट भएको छ भने अब आठ समूहका विजेता र उपविजेता पुग्नेछन्। यद्यपी आठ समूहमध्ये एउटा उपविजेता भने छनोट हुनेछैन।