पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पुरूषतर्फ घरेलु टिम पश्चिमाञ्चले उपाधि हात जितेको छ भने महिला तर्फ विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफले जितेको छ। दुबै टिमले विभागीय टोली आर्मीलाई हराएका हुन्।
१८ औं पुरूष ह्याण्डबल प्रतियोगिताको फाईनल खेलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो। राष्ट्रिय खेलाडी बिशाल बस्नेतको कप्तानीमा मैदानमा उत्रिएको पश्चिमाञ्चलले घरेलु मैदानमा दर्शकको साथ पाउँदा ४ गोल अन्तरले जित हासिल गर्न सफल भएको हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए।
त्यसै गरी पुरूष तर्फ तेस्रो स्थानको लागि भएको खेलमा विभागीय टोली एपिएफले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित गर्यो।
प्रतियोगितामा नेपाल आर्मी अनुसाशित टिम भएको छ। प्रतियोगितामा एपिएफका दीपक सिंह बोहराले सेमिफाईनल र तेस्रो स्थानको लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वाधिक गोल कर्ताको उपाधि पाए।
दर्शकहरुको उल्लेखनीय सहभागितामा शनिबार पोखरा रंगशालामा सम्पन्न ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता तर्फको उपाधि एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै जित्यो।
महिला तर्फ तेस्रो स्थानको लागि भएको खेलमा पुर्वाञ्चलले घरेलु टिम पश्चिमाञ्चललाई ४ गोल अन्तरले पराजित गर्यो।
पूर्वाञ्चले पश्चिमाञ्चललाई १८–१४ को गोल अन्तरले पराजित गरेको हो।
दुई विभागीयसहित ७ टिम सहभागि प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनुसाशित टीम घोषित भएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई भईन्।
विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरूष तर्फ आर्मी र महिला तर्फ एपिएफले उपाधि जितेका थिए।
विजयी खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारी, नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमितिका सदस्य तेज गुरुङ, संघका बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, संघ कास्कीका अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङ लगायतले वितरण गरेका थिए ।