सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक बर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर बढी रकम विनियोजना गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५/ ७६ को बजेट प्रस्तुत गर्दा युवा तथा खेलकुद मन्त्रालयका लागि कुल विनियोजित रकमको ४ अर्ब १८ करोड ९५ लाख रूपैयाँ विनियोजन गरेका हुन् ।
यो रकम गत वर्षको तुलानामा झन्डै दोब्बर बृद्धि हो। आर्थिक वर्ष २०७४/०७५ मा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको थियो।
राखेपअन्तर्गत खेलकुदका लागि मात्र ३ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएको छ । गत वर्ष १ अर्ब ६१ करोड छुट्टाइएको थियो, त्यसको तुलनामा हेर्ने हो भने यो दोब्बर भन्दा बढी हो ।
भदौंमा इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको सहभागिता तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) र आठौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पनि बजेटमा समावेश गरिएको छ।
अबदेखि सबै ओलम्पियनले मासिक ३ हजार रुपैयाँ भत्ता प्राप्त गर्नेछन्। यसअघि सागका स्वर्ण पदक विजेताले मासिक भत्ता पाउँदै आएका थिए।
सरकारले सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला बनाउने बजेटमा उल्लेख गरेको छ ।
बालबालिका तथा युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई जोड दिइने भन्दै मन्त्री खतिवडाले स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यताको आधारमा रंगशाला‚ खेल मैदान‚ युवा क्लव तथा विचरण पार्क क्रमिक रूपमा स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरेको बताए।
सबै प्रदेशहरूमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरेको जानकारी दिए।
अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत् नेपालको पहिचान स्थापना गर्न अठारौं एशियाली खेलकुद र तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको तयारी एवम् पूर्वाधार निर्माण र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न २ अर्ब ४ करोड विनियोजन गरेको जानकारी दिए।