सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू हुँदैछ । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२४÷२५ को सिजनमा कुल आठ प्रतियोगिता सञ्चालन हुने जनाएको छ ।
सिजनको कुल नगद पुरस्कार ६७ लाख ३२ हजार रहेको छ । गत संस्करण भन्दा यो नगद पुरस्कार राशी ५ प्रतिशतले वृद्धि भएको हो । गल्फ टुरलाई १८औं संस्करणमा पनि प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिको साथ रहेको छ । सूर्य नेपालको यो साथले नेपाली गल्फ विकासमा ठूलो योगदान पुगेको भन्दै प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रायोजकलाई धन्यवाद दिए ।
सिजनको आठ प्रतियोगिता विभिन्न चार गल्फ क्लबमा हुने तय भएको छ । तर एउटा प्रतियोगिता भने त्रिभुवन आर्मीको गल्फ क्लबमा हुन सक्ने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए । अहिलेको लागि काठमाडौंको गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबमा समान ३÷३ प्रतियोगिता हुने भनिएको छ । यसैगरी पोखरा र धरानमा एक÷एक प्रतियोगिता क्यालेन्डरमा उल्लेख छ । गल्फ टुरको नियमित आयोजनाले प्रोफेसनल गल्फरहरूसँगै एमेच्योर गल्फरहरूलाई पनि सहयोग पुगेको ठम्याई महासचिव आचार्यको छ ।
उनका अनुसार यही टुरमा निरन्तर सहभागिताले एमेच्योर खेलाडीहरूबाट अन्तराष्ट्रिय स्तरमा नतिजा आउन सुरू गरेको छ । आठ मध्ये सात प्रतियोगिता स्ट्रोक प्ले फर्मयाटमा हुनेछ भने म्याच प्लेको फर्मयाट फरक हुनेछ । जहाँ अर्डर अफ मेरिटमा टप १६ मा रहेका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । नगद पुरस्कार राशीको आधारमा सबैभन्दा ठूलो प्रतियोगिता भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ । जसको कुल पुरस्कार १६ लाख १९ हजार रहनेछ ।
सूर्य नेपाल गल्फ टुर २०२४÷२५ मा हुने प्रतियोगिताहरू (कमयालेन्डर)
१.सूर्य नेपाल सेन्ट्रल ओपन, गोकर्ण, ८ लाख ८२ हजार
२.सूर्य नेपाल काठमाडौं ओपन, आरएनजिसी ७ लाख ३५ हजार
३.सूर्य नेपाल इस्टर्न ओपन, धरान, ८ लाख ८२ हजार
४.सूर्य नेपाल वेस्टर्न ओपन,पोखरा, ८ लाख ८२ हजार
५.सूर्य नेपाल च्यालेन्ज, आरएनजिसी, ६ लाख६.सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप, गोकर्ण, ८ लाख ८२ हजार ७.सूर्य नेपाल एनपिजिए म्याच प्ले, आरएनजिसी, २ लाख ५० हजार ८.सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप, गोकर्ण, १६ लाख १९ हजार
पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि
सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि गोकर्ण गल्फ क्लबमा हुँदैछ ।
चार दिन सम्म चल्ने प्रतियोगितामा ३३ प्रोफेसनल र तीन वा तीन भन्दा कम ह्यान्डीक्याप भएका सात एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । ३६ होलपछि कट हुनेछ । प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ ।
जहाँ विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन। यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन एमेच्योर खेलाडी सद्भाव आचार्य हुन् । उनलाई कडा चुनौती दिने तयारीमा प्रोफेसनल गल्फरहरू भुवन नगरकोटी, निरज तामाङ, रवि खड्का, सञ्जय लामा, धन थापा र कुमार कामी रहेका छन् । गत सिजन पनि एमेच्योर खेलाडीको प्रभाव बढी थियो ।
त्यसैले प्रो गल्फर यो पटक पनि दबाबमा रहन सक्छन् ।