नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपालका विभिन्न मौलिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजना रहने प्रतियोगिता आगामी साउन ११ र १२ गते हुनेछ ।
काठमाडौंको बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा हुने उक्त बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत सहभागिता रहनेछ । प्रतियोगितामा २ सय ५० जना सम्मको सहभागिता रहने अपेक्षा आयोजकका रहेको छ ।
बाघचाल प्रतियोगितामा सहभागिताका लागि आयोजकले आवेदन समेत खुल्ला भएको जनाएको छ । २०७५ साल साउन २ गते साझँ ५ बजे सम्म आएका आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइने आयोजकले बताएको छ।
प्रतियोगीले १५० रुपैयाँ आवेदनसहित बुझाउने पर्नेछ । कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमश: ५५००, ३५०० र २५०० रुपैंयाका साथै शिल्ड, मेडल र प्रमाण–पत्र पाउने छन्।