वीरगन्जमा आयोजना हुँदैआएको राष्ट्रियस्तरको विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगीतालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले वार्षिक क्यालेण्डरमा समेट्ने भएको छ।
दिवंगत फुटबल खेलाडी विशालजंग राणाको स्मृतिमा यो प्रतियोगीता यहाँ आयोजना हुँदै आएको छ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो जानकारी शनिबार यहाँ आयोजित कार्यक्रममा दिएका हुन्। त्यस अवसरमा एन्फाका उपाध्यक्ष, महासचिव लगायत पदाधिकारीको उपस्थिति थियो।
शेर्पाको उपस्थितिमै ‘विशाल मेमोरियल फाउण्डेसन’को नयाँ कार्यसमिति पनि गठन भएको छ।
फाउण्डेसनको साधारणसभाले अनिलकुमार कलवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। फाउण्डेसनको बरिष्ठ उपाध्यक्षमा सुलभजंग राणा, प्रथम उपाध्यक्ष मोहम्मद नेजामुद्दिन र द्वितिय उपाध्यक्षमा बालकृष्ण डंगोल चुनिएका छन्।
निशान्तकुमार लामिछाने महासचिव र विनोद परियार सचिव छन्।
यसअघि साधारणसभाको उद्घाटन अध्यक्ष शेर्पाले गरेका थिए।
कार्यक्रममा फिफा रेफ्री गजेन्द्रमान सिंहलगायत फुटबलका क्षेत्रमा योगदान दिने वीरगन्जका विभिन्न व्यक्तिलाई सम्मानितसमेत गरिएको थियो।