इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ।
प्याराग्लाइडिङ क्रस कन्ट्री विधामा बुधबार नेपाली पुरूष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको हो।
बुधबार भएको पाचौं राउन्डको खेलमा पाराग्लाइडिङको पुरुष टिमले उत्कृष्ट प्रदर्शन गर्दै पदकविहीन हुनबाट नेपाललाई जोगाएको हो। नेपाललाई २७ अंकले हराउँदै जापानले स्वर्ण पदक जितेको छ।
नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको थियो।
क्रस कन्टी्र इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् ।
यो सँगै नेपालले एसियन गेम्सको इतिहासमा दोस्रो पटक रजत पदक जितेको छ। यसअघि सन् १९९८ मा बैंककमा भएको एसियन गेम्सको तेक्वान्दोमा नेपालकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्।