नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन्।
सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
सपथ ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष तिमिल्सिनाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिवद्धता व्यक्त गरे। मुलुकको खेल र खेलाडीहरूको हितमा समर्पित हुने नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाको भनाइ छ।
उनले खेलकुद क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने योजना पनि सुनाए।
तिमिल्सिना यस अघि पनि परिषदको उपाध्यक्ष भएका थिए। समारोहमा परिषद्का नवनियुक्त सदस्यद्वय राजेश गुरुङ र इन्दिरा निरौलाले पनि पद तथा गोपनियताको सपथ लिएका छन्।
मन्त्री विश्वकर्माले गुरुङ र निरौलालाई पनि पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो।
सपथ ग्रहण समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतको सहभागिता रहेको थियो।