दाङ देउखुरीको लमहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणको कार्यले तीव्रता पाएको छ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिक आउँदै गर्दा अहिले क्रिकेट मैदान,पिच, गेट निर्माणदेखि मैदानमा दुवो उमार्ने कामको तयारी तीव्र गतिमा भइरहेको छ।
क्रिकेट मैदानमा तारबार गर्नेदेखि कटिङ गर्ने,नाला निर्माणको कार्य भइसकेको लमही नगर विकास समितिका सदस्य पवन रिजालले जानकारी दिए।
क्रिकेट मैदानमा समथल बनाउनेदेखि तारबार लगाउने,गेटनिर्माण,डिप बोरिङ खन्नेलगायतका काम पूरा भइसकेको उनले बताए।
क्रिकेट परिषद् (आइसीसी)को मापदण्ड अनुसार निर्माण भइरहेको क्रिकेट मैदानको करिब ९० प्रतिशत निर्माणको काम पूरा भइसकेको जानकारी दिइएको छ।
क्रिकेट मैदान निर्माणका लागि हालसम्म लमही नगर विकास समिति र राष्ट्रिय खेलकुद परिषदले पटक/पटक गरी करिब चार करोड बढी रकम खर्च गरिसकेको जानकारी दिएका छन्।
करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त क्रिकेट मैदान नगर विकास समितिको करिब साढे तीन करोड रुपैयाँ र राष्ट्रिय खेलकुद परिषदले हालसम्म ७५ लाख रुपैयाँ खर्चेको लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले बताए।
उनका अनुसार लमही क्रिकेट मैदानमा २२ हजार दर्शकले एकैसाथ खेल हेर्न पाउने व्यवस्था गरिएको छ। डिजाइन स्टिमेटअनुसार मैदानको व्यास (डाइमिटर) १ सय ३७ मिटर र अर्धव्यास (रेडिएस) ६५ मिटर छ ।
झन्डै २० वर्ष अगाडिदेखि निर्माण सुरू भएको क्रिकेट मैदान विभिन्न कारणले निर्माणमा ढिलाइ हुँदै आएको थियो।
दाङको लमहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने कार्य आर्थिक वर्ष २०५७/०५८ देखि नै सुरू भएको थियो। तर निर्माण कार्य भने २०६४ सालदेखि सुरू भएको थियो। बजेट अभावले बीचमा निर्माण कार्य प्रभावित हुँदै आएको थियो।
देउखुरी क्रिकेट क्लबका अध्यक्ष शोभाराम पौडेलले ढिला भए पनि मैदान निर्माण कार्यले पूर्णता पाउनुले खेलाडीहरू उत्साहित बनेको बताए ।
क्रिकेट खेलाडी समेत रहेका पौडेलले पछिल्लो समय लमही नगर विकासको पहलमा क्रिकेट मैदान निर्माण कार्यले तीव्रता पाएको जानकारी दिए ।
माघ महिनामा महिलाहरूको राष्ट्रिय क्रिकेट प्रतियोगिता लमही क्रिकेट मैदानमा हुने जानकारी दिइएको छ । लमहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य अन्तिम चरणमा हुनु र निकट भविष्यमै टुर्नामेन्ट समेत हुन थालेको हुँदा यहाँका खेलाडी तथा खेलप्रेमी खुसी छन् ।
लमहीको क्रिकेट मैदान दाङको मात्र नभएर ५ नं. प्रदेश कै सबै भन्दा राम्रो मैदान रहेको हुँदा भविष्यमा खेल जगतको विकास हुने अध्यक्ष पौडेलले आशा व्यक्त गरे ।
यो क्रिकेट मैदान निर्माण पूरा भएमा पश्चिम नेपालकै नमूना क्रिकेट मैदान हुने नेपाल क्रिकेट एशोसिएशनका क्यूरेटर प्रफुल्लसागर प्रधानले बताए।
प्रधानले लमही क्रिकेट मैदान निर्माण गरिनु निकै खुसीको कुरा भएको भन्दै यस्ता मैदानहरू अन्यत्र पनि निर्माण गर्न सकेको खण्डमा देशमा खेलकुदको विकास हुने धारणा राखे ।