शनिबार हुने आईएफबीबी बडिविल्डीङ प्रो-क्वालिफायरको सम्पूर्ण तयारी पुरा भएको छ।
नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि जज तथा खेलाडीहरू काठमाडौं आइसकेका छन्।
प्रतियोगितामा २० जना खेलाडीले सहभागीता जनाउने आयोजकले जनाएको छ। ओलम्पियाका लागि छनोट हुन प्रो कार्ड आवश्यक पर्ने भएकाले नेपालमा पहिलो पटक आईएफबीबी लिग भएको हो।
प्रतियोगितामा नेपालसहित भारत, कतार, इरान, सिरिया, साउदी अरेबिया र यूएईका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौंका प्रज्ञाभवनमा बिहान ८ बजे पछि शुरू हुने प्रतियोगिताको मूख्य आकर्षण नेदरल्याण्ड्सका रोली विङ्क्लारले गेस्ट पोज दिने भएका छन्।
नेपालबाट एक जना महिलासहित ६ जना खेलाडीले सहभागिता जनाउने आईएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरूङले जानकारी दिए ।
प्रतियोगितको तयारीबारे शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गुरूङले नेपालमा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गर्दा रोली विंक्लार आउनु ठूलो खुसीको कुरा भएको बताए।
पत्रकार सम्मेलनमा उपस्थित रोलीले नेपाल आफूलाई साह्रै मन परेको प्रतिक्रिया दिए।
रोली विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन्। उनको हातको पाखुरा मात्र २४ इन्ची, छाति ६० र खुट्टाको पाखुरा ४८ इन्चीको छ । सोशल मिडिया इन्स्टाग्राममा १२ लाख मानिसले उनलाई पछ्याउँछन् ।
रोली यो वर्ष पहिलो पल्ट नेपालमा देखा पर्न लागेका हुन्। उनी वर्षमा १–२ पल्ट मात्र प्रतियोगिताको अवसरमा सार्वजनिक रुपमा देखा पर्छन् । नेपालमा उनी आइएफबिबि प्रोफेसनल लिगको ‘प्रो क्वालिफायर’ मा ‘गेष्ट पोजर’ को रुपमा देखा पर्न लागेका हुन् ।
नेपालमा आयोजना हुन लागेको ‘प्रो क्वालिफायर’ मा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन फिजिक’ गरि ४ वटा प्रो कार्डका लागि प्रतिस्पर्धा हुँदैछ । प्रो कार्ड पाउने ४ खेलाडीले अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन पाउने छन् ।
फागुन ४ गते नै बिहान ८ बजेदेखि प्रि–जजिङ सुरु हुनेछ भने २ बजेदेखि फाइनल खेल सुरु हुनेछ।
फाइनल सम्पन्न भएपछि रोलीले आफ्नो भीमकाय शरीर प्रदर्शन गर्नेछन् ।
भीमकाय शरीरका रोली नेपालमा, ढाका टोपी लगाएर स्वागत (तस्बिरहरूसहित)