इनोभेटिभ र नेरिक स्कुलले राजधानीमा जारी दोस्रो स्वप्न वाटिका बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
बुद्धनगरस्थित स्वप्न वाटिका स्कुलले आयोजना गरेको प्रतियोगिताको फाइनलमा शुक्रबार इनोभेटिभले सिनियर गर्ल्स र नेरिकले जुनियर ब्वाइजको उपाधि जितेका हुन्।
इनोभेटिभले रिलायन्स स्कुललाई ३५–१२ ले हराउँदा इनोभेटिभकी शोभ्या महर्जनले ८ स्कोर गरिन्।
जुनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिक एकेडेमीले आयोजक स्वप्न वाटिका स्कुललाई २२–१३ ले हरायो। नेरिक एकेडेमीका भुवन थापाले ११ स्कोर गरेका थिए।
गर्ल्सतर्फ इनोभेटिभकी जेनेभा मजर्जन र ब्वाइजमा नेरिकका रविन्द्र बोहरा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए।
गर्ल्समा सिर्जनशील तथा जुनियर ब्वाइजमा साउथ पोइन्ट ले अनुशासित टिमको उपाधि हात पारे।
एक सातासम्म चलेको प्रतियोगीतामा सिनियर गर्ल्समा १२ टिम र जुनियर ब्वाइज तर्फ ८ वटा टिमको सहभागिता थियो। प्रतियोगिता फागुन ४ गतेबाट १० गतेसम्म चलेको थियो।
विजेताले शिल्ड र प्रमाणपत्र पाएका थिए।