दाङको बेलझुण्डी रंगशालाको खेल मैदानको तयारी तीव्रतासाथ अगाडि बढेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको रंगशालामा आगामी चैत महिनादेखि सुरू हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला फुटबल र एथलेटिक्सका खेल हुने भएकोले मैदानको तयारी तीव्र पारिएको हो।
मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बर्मुडा नामक दुबो रोप्न सुरू गरे।
अबको एक हप्ताभित्रमा मैदानमा दुबो लगाएर सक्ने र १५ दिनमा एथलेटिक्सको लागि ट्रयाक तयार भइसक्ने विष्टले बताए।
हाल तुलसीपुरस्थित रंगशालामा टेबुल टेनिसको प्रदेशस्तरीय छनोट खेलहरू पुरा भएको उनले बताए। त्यस्तै, उनले दाङकै लहमी क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गरिने जानकारी दिए।दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै चैतको पहिलो हप्तासम्म मैदान तयार भइसक्ने गरी काम भइरहेको बताए। चैतको १६ गतेदेखि बेलझुण्डी रंगशालामा महिला फुटबल र एथलेटिक्सका खेलहरू हुने निश्चित रहे पनि आर्चरी खेल पनि यही हुने संभावना रहेको हुँदा त्यसको तीव्र रूपमा तयारी भइरहेको अध्यक्ष डाँगीले बताए।
त्यस्तै महिला भलिबल र क्रिकेट प्रतियोगिता पनि दाङमै हुने तयारी भइरहेको छ उनले बताए।
राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधाका गरी जम्मा ३५ खेलहरू हुने जनाइएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तरगत प्रदेशस्तरीय छनोट प्रतियोगिता भने फागुन १९ गतेदेखि २४ गतेसम्म चल्ने जानकारी दिइएको छ।
तुलसीपुरमा टेवल टेनिसप्रतियोगिता, घोराहीको कभर्डहलमा उसु, घोराहीको नवलपुरमा बास्केट वल तथा घोराहीको भरतपुर खेल मैदानमा एथलेटिक्स प्रतियोगिता जारी रहेको जिल्ला खेलकुद विकास समितिकी प्रशिक्षक पद्मा चौधरीले जानकारी दिइन्।
२४ करोड २४ लाखमा पहिलो चरणको काम हुँदै
नेपाल सरकार र निर्माण कम्पनीबीच बेलझुण्डीमा सुविधा सम्पन्न रंगशाला निर्माणको काम गत असार ७ गतेदेखि सुरू भएको हो। निर्माण कम्पनीसँगको सम्झौतामा ८ महिनाभित्र निर्माणको सम्पूर्ण काम सक्ने सर्त छ। निर्माण समितिले चैतको पहिलो सातासम्म काम सक्ने जानकारी दिएको छ।
समयको चापलाई मध्यनजर गर्दै श्रमिकको संख्या, निर्माण सामग्री तथा उपकरणको संख्या थपेको निर्माण कम्पनीले जानकारी दिएको छ।
प्याराफिट निर्माणदेखि मैदानमा ट्रयाक निर्माण र दुबो
चैतको पहिलो सातासम्म रंगशाला तयार हुने निर्माण कम्पनीका इञ्जिनियर विश्वामित्र सन्ध्यालले बताए। तयारीका लागि झण्डै ४० लाख जतिको दुबो मैदानमा लाग्ने सक्ने इञ्जिनियर सन्ध्यालले अनुमान गरे।
रंगशाला निर्माण अन्तर्गत प्याराफिट निर्माण, १० कोठे व्लक भवन, भिआइपी व्लक, नर्मल व्लक, मैदानमा दुबो रोप्ने लगायतका कामका लागि नेपाल सरकारसँग २४ करोड २४ लाख रुपैयाँमा सम्झौता भएको सन्ध्यालले जानकारी दिए।
नेपाल सरकारले ३४ करोडको ठेक्का खोलेको भए पनि १० करोड विलोमा दिवा/एमए/प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनीले निर्माण जिम्मा लिएको थिए।
इञ्जिनियर सन्ध्यालले फुटबल स्टेडियम, स्वीमिङ पुल, कभर्ड हल लगायतका संरचना निर्माणको काम गर्न बाँकी रहेको हुँदा त्यो निर्माण गर्न वर्षौं लाग्न सक्ने जानकारी दिए।
हाल मैदानको पूर्वतिर सामान्य प्याराफिट निर्माण गरिएको र पश्चिमतर्फ भने भिआइपी प्याराफिट निर्माण हुने इञ्जिनियर सन्ध्यालले जानकारी दिए।
दशरथ रंगशाला भुइँचालोले भत्किएपछि नेपालमा सिन्थेटिक ट्रयाकसहितको रंगशाला दाङमा निर्माण हुन थालेको सन्ध्यालले बताए।
नेपाल सरकारले निर्माण गरेको बेलझुण्डी नै हाल एकमात्र सिन्थेटिक रंगशाला भएको उनले बताए।