मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान खेलाडीहरूको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन्।
जनकपुरमा आजदेखि सुरू भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए।
विश्वको अन्य मुलुकमा खेलाडीहरूलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश २ को सरकारले समेत प्रादेशिक संरचनाभित्र क्षमतावान खेलाडीहरूलाई समावेश गर्ने नीति दिएको उल्लेख गरे।
उनले प्रदेश सरकार हालसम्म प्रदेशभित्र हुने सबै प्रकारको खेलमा यथाशक्य सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने बताए।
मुख्यमन्त्री राउतले खेल क्षेत्रलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेशस्तरीय र प्रदेशभित्र कम्तीमा ३/४ वटा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने सोच समेत बनाएको जानकारी गराए।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश नं. खेलाडीहरूको उर्वर भूमि रहेको उल्लेख गर्दै त्यस्ता खेलाडीहरूलाई उजागर गर्न प्रदेश सरकार हर सम्भव प्रयास गर्ने बताए।
उनले आधुनिक खेलका साथै मधेशका पारम्परिक खेलहरूको जगेर्ना गर्न समेत प्रदेश सरकार प्रयत्नशील रहेको बताए।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकुद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल स्रोत रहेकाले क्षमतावान खेलाडी पहिचान गर्न वडास्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गरे।
१९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडौं तथा भारतबाट पटना, दरभंगा र कानपुर गरी जम्मा ८ वटा टिम सहभागी छन्।