दाङको बेलझुण्डीस्थित रंगशाला निर्माणको काम युद्ध स्तरमा भइरहेको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरीरंगशाला निर्माणको काम भएको हो।
काठमाडौंको दशरथ रंगशालापछि सन्थेलेटिस प्रविधिबाट ट्रयाक निर्माण गरिएको यो नै मोफसलको पहिलो रंगशाला हो। रंगशालाकोट्रयाक निर्माण गर्न चीनबाट प्राविधिक टोली ल्याइएको छ। रंगशाला निर्माणको काम चैत ३० गतेभित्रै सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी छ।
प्रतियोगितामा दाङका विभिन्न सहरमा ८ वटा प्रतियोगिता हुने भएका छन्। सदरमुकाम घोराहीमा टेबुलटेनिस, बास्केटबल, ब्याटमिन्टन र लमहीस्थित क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोतिगिता हुने छन्।
बैशाख ५ गते नेपालगञ्जमा प्रतियोगिताको उद्घाटन गरिने भएपनि चैत २७ गतेदेखि नै टिम गेमहरु सुरु हुने दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बताए। प्रतियोगिता बैशाख ११ गतेसम्म चल्ने छ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। चैत २६ गतेदेखि नै खेलाडीहरु आउने हुँदा त्यहीँ अनुरुप व्यवस्थापन गरिएको अध्यक्ष डाँगीले बताए। ‘खेल माध्यमबाट दाङको पहिचान स्थापित गर्ने यो सुनौलो अवसर हो,’ अध्यक्ष डाँगीले भने, ‘यसमा सबैको साथ र समर्थन हुनुपर्छ’।
प्रतियोतामा २०७५-७६ को लागि ७ प्रदेशबाट एक-एक टोली, तीन विभागीय टोली र एउटा एनआरएनको टोली गरी कुल ११ टोलीबीच प्रतिस्पर्धा हुने छ।
प्रदेश ५ का विभिन्न जिल्लाहरुमा ३५ वटा खेलकुद प्रतियोगिता गराउने तयारी भइरहेको छ। धेरै खेलहरु बैशाख ४ र ५ गतेदेखि तुलसीपुर, घोराही र लमहीमा सुरु हुने अध्यक्ष डाँगीले जानकारी दिए। निर्माणधीन रंगशालामा एथलेटिक्स र महिला फुटबल प्रतियोगिता हुने छन्।