आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीलाई खेलस्थलमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ। प्रतियोगितास्थलमा नै प्रतियोगिता हेरेर स्वास्थ्य सेवा प्रदान गरिएको प्रदेश नं– ५ का प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिए।
नेपालगञ्जमा भइरहेका ११ खेलस्थलमा नै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। प्रतियोगितका लागि महेन्द्र रङ्गशालामा चिकित्सकसहितको स्वास्थ्य शिविर राखिएको छ। उनका अनुसार नेपालगञ्ज जस्तो गर्मी ठाउँमा खेलाडी अस्वस्थ नहुन् भन्नाका लागि बिहान र बेलुका खेल खेलाइएको छ।
उनले अहिलेसम्म गर्मीका कारण कुनै खेलाडी अस्वस्थ नभएको बताए।
प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, एथलेटिक्स र पुरुष क्रिकेटका खेल हुँदैछन्।
खेलको अवस्था हेरेर चिकित्सकदेखि स्वास्थ्य सहायकसम्मको टोली खटाइएको स्वास्थ्य उपसमितिका सचिव तिलक नेपालीले जानकारी दिए।
उनले खेलस्थलमा प्राथमिक उपचार सम्भव नभएमा थप उपचारका लागि भेरी अञ्चल अस्पतालमा तीन चिकित्सकको नेतृत्वमा अलग्गै टोली समेत रहेको छ।
‘अहिलेसम्म खेलकुदमा खेलाडीलाई यस्तो ठूलो उपचार गर्नुपरेको छैन’, उनले भने, ‘खेलको प्रकृतिअनुसार अलिअलि खेलाडीलाई चोटपटक लाग्ने गरेको छ। ती चोटपटकलाई खेलस्थलमा भएका टोलीले उपचार गरिरहेका छन्।’
उनका अनुसार खेल अवधिभर करिब १५ चिकित्सक, ४५ स्वास्थ्य सहायक, स्टार्फ नर्स र अहेव, ५० स्वमयसेवक र पाँच फिजियोथेरापिस्ट खेलाडीको स्वास्थ्य उपचारमा खटिएका छन्। अहिलेसम्म ७० जनाले स्वास्थ्य शिविरमा उपचार गराइसकेका छन्। तर खेलाडीले सामान्य खालका उच्चरक्तचाप, कब्जियतका औषधिमात्र प्रयोग गर्ने गरेको स्वास्थ्य उपसमितिका सचिव नेपालीले जानकारी गराए।
प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वास्थ्य टोलीमा तीन चिकित्सक आएका छन भने आवश्यकतानुसार नेपालगञ्जमा अन्य चिकित्सकको व्यवस्था गरिएको छ। प्रतियोगितामा खेलाडीलाई चोटपटक लागेमा वा शरीरको कुनै भाग दुखेमा फिजियोथेरापी टोलीसमेत खटाइएको छ।
पाँच जनाको टोलीले महेन्द्र रङ्गशालामा खेलाडीलाई दैनिक फिजियोथेरापी गराउने गरेको स्वास्थ्य उपसमितिका सचिव नेपालीले जानकारी गराए।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र गैरनेपाली आवासिय सङ्घ (एनआरएनए) गरी ११ टोलीका करिब पाँच हजार खेलाडी सहभागी छन्। नेपालगञ्जसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौं, ललितपुर र पोखरामा भइरहेका छन् ।