भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते खुल्ला प्रतियोगिता तथा किक बक्सिङ प्रतियोगिताको समूह विजेता बन्दै नेपाली टिमले ईतिहास दोहोर्याएको छ।
भारतको बिहार राज्यको पटनास्थित पाटलीपुत्र स्पोर्टस स्टेडियममा सम्पन्न प्रतियोगितामा नेपाली टिमले दमदार खेल प्रस्तुत गर्दै विगतको ईतिहास दोहोर्याएको नेपाल कराँते महासंघ प्रदेश ५ का अध्यक्ष भरत बहादुर के.सी.ले बताए।
नेपाली टिमले २० स्वर्ण, ६ रजत, १ कास्यसहित समूह विजेता बन्न सफल भएको छ। जापान गोजुरीयो कराँते डो मिसन संघका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक के.बि रानाको नेतृत्वमा गएको नेपाली टिमले भारत, बंगलादेश, भुटानलगायतका देशका खेलाडीलाई पराजित गर्दै उपाधी चुम्न सफल भएका हुन्।
अल इन्डिया सितेरियो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोशिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत दोस्रो र बंगलादेश तेस्रो भएको अल इन्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापाले जानकारी दिए।
च्याम्पियनसिपमा नेपाली खेलाडी रूपा रानाले काता र कुमितेतर्फ दुई स्वर्ण पदक प्राप्त गरिन्। रानाले १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहको स्पर्धामा स्वर्णपदक प्राप्त गरेकी हुन्। रूपा रानासँगै सिनियरतर्फ सन्तु थारू ५५ , छिरीङ गुरूङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समूहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए।
१९ वर्षमुनिको जुनियर तर्फको स्पर्धामा सञ्जय चौधरीले ७० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे। १७ वर्षमुनीको (सब जुनीयर) उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५०, रोशन राना ६० र सुनिल रावलले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे।
१४ वर्ष मुनीको –केडर) उमेर समूहमा प्रियंका थापा, ५५ , इशा सारु ४०, शाहील गुरुङ ३५, जिवन पुन ४०, मिलन श्रीस ४५, सरोज क्षेत्रीले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे। यसैगरी १० वर्षमुनीको (सब केडर) उमेर समूहमा अमीसा पोखरेल ३०, आदित्य क्षेत्री २०, डिबिन सेन ठकुरी २५ र गौरब पौडेलले ३० केजी तौल समुहको स्पर्धामा स्वर्ण पदक हासील गरेको छन् ।
यसैगरी प्रतियोगितामा सिनियरतर्फ कुमिते र किक बक्सिङमा नेपालकी दिलमाया कोइराला, बिपिन राना र सञ्जय कुमार चौधरीले रजत पदक प्राप्त गरे । केडरतर्फ आकृति राना र प्रसुन शाहीले रजत पदक प्राप्त गरे भने नेपालका यमन सोती मगरले कास्य पदक हात पारे ।
बिदेशी भूमिमा जित हासिल गरेर खेलाडीले देशको नाम राखेकोमा आफूलाई गर्ब लागेको कराँतेका रुपन्देहीका अध्यक्ष उमेश थापामगरले बताए।
यसअघि नेपाली टिमले भारतको पुनामा सम्पन्न च्याम्पियनसिपमा १४ वटा स्वर्ण पदक र दिल्लीमा सम्पन्न च्याम्पियनसिपमा १७ वटा स्वर्ण पदक हासील गर्दै समुह विजेता भएको थियो ।