प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल २ सय ८८ पदक जित्दै नेपाल आर्मी च्याम्पियन बनेको छ।
१ सय ४० स्वर्ण, ८१ रजत र ६७ काँस्यपदकसहित कुल २ सय ८८ पदक जित्न सफल भएको छ।
आर्मीले कुल १ हजार १ सय ३९ पदकका लागि भएको प्रतिपर्धामा सर्वाधिक २ सय ८८ पदक जित्दै च्याम्पियन बन्न सफल भएको हो।
बुधवार समापन भएको राष्ट्रिय प्रतियोगिताको प्राप्त नतिजा अनुसार नेपाल पुसिल १ सय ५७ पदक जित्दै दोस्रो बन्यो।
नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काँस्यसहित १ सय ५७ पदक जित्न सफल भएको छ। ५३ स्वर्णसहित २ सय ३ पदक जिते पनि एपिएफ तेस्रो भयो।
प्रतियोगितामा प्रदेश नं. ३ ले २२ स्वर्णसहित १ सय २२ पदक जित्न सफल भएको छ। त्यसपछि गण्डकी प्रदेशले १२ स्वर्णसहित ७७ पदक, प्रदेश नं. ५ ले ११ स्वर्णसहित ८५ पदक, प्रदेश नं. १ ले ९ स्वर्णसहित ८८ पदक, सुदूरपश्चिमले ८ स्वर्णसहित ५४ पदक, प्रदेश नं. २ ले ६ स्वर्ण सहित ३३ पदक, गैरआवासीय नेपाली सघंको टोलीले ६ स्वर्ण सहित १३ पदक र कर्णाली प्रदेशले ३ स्वर्णसहित १३ पदक हात पार्न सफल भएका छन्।
आठौं राष्ट्रिय प्रतियोगितामा ७ प्रदेश, ३ वटा विभागीय टिम र गैरआवासीय नेपाली संघसमेत गरि ११ टिमको सहभागिता थियो।
अधिकांश खेलहरू प्रदेश नं. ५ मा भएका हुन्। दाङ, बाँके, रूपन्देही, ललितपुर र पोखरामा प्याराग्लाईडिङ खेलहरू खेलाइएका थिए।
टिम गेमहरू जस्तै व्याटमिन्टन, टेवलटेनिस अनौपचारिक रुपमा चैत २७ गतेदेखि दाङलगाएका जिल्लाहरुमा सुरु भएका थिए । तर, प्रतियोगितको औपचारिक रुपमा उद्घाटन भने वैशाख ५ गते राष्ट्रपतिले बाँकेमा गरेकी हुन्।
बुधबार बाँके पुगेर नेपालगञ्ज रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय खेलकुदको समापन गरेसँगै आठौं राष्ट्रिय प्रतियोगिता विधिवत रूपमै समापन भएको छ।
यसैबीच नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको छ।