१६ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७५’ आगामी असार १७ गते कमलादीस्थित प्रज्ञा भवनमा हुने भएको छ।
यसअघि आर्मी अफिसर क्लबमा हुँदै आएको कार्यक्रम यसपालि भने कमलादीमा हुने आयोजनले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो।
मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ भने कम्पनीले २५ लाख रुपैयाँ नगद पनि सहयोग गरेको छ।
कार्यक्रममा हंशराज हुलासचन्द एण्ड कम्पनीका तर्फबाट अभिमन्यू गोल्छा र नेपाल खेलकुद पत्रकार मञ्चका तर्फबाट दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यस वर्ष नयाँ विधा पनि थपिएको आयोजकले जनाएको छ।
नयाँ विधा इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डसमेत गरी यसवर्ष पल्सर स्पोर्टस् अवार्ड २०७५ मा १० विधामा अवार्ड प्रदान गरिने छ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस, अवार्ड पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी प्रशिक्षक र पुराना खेलकर्मीलाई सम्मानित गरिनेछ।
लाइफटाइम, पारा र टिम अफ दि इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिने छ।
खेलाडी पुरुष र महिला पिपल्स च्वाइस र प्रशिक्षक गरी चार जनालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ भने अन्य विधाका विजेतालाई जनही ५० हजार दिइने जनाइएको छ।