सिन्धुपाल्चोकमा यही जेठ ३२ गते अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगिता हुने भएको छ।
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय ट्रेल रेस र सिन्धु गाउँ विकास समितिको आयोजनामा पाँचौं ट्रेल रेस आयोजना हुन लागेको हो।
आयोजनामा २६ र ६० किलोमिटरका दुई चरणका दौड हुनेछन्। २६ किलोमिटर दौड बलेफी गाउँपालिकाको जलवीरे बजारबाट सुरू हुनेछ भने ६० किलोमिटर दौड भने चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलो सिरुवारीबाट हुनेछ।
दुवै दौडको समापन भने भोटेकोसी गाँउपालिकास्थित द लास्ट रिसोर्टमा हुनेछ।
खेलकुद पर्यटन र ट्रेल रेसको विकास गरी जिल्लाको पर्यटकीय क्षेत्रमा नयाँ आयाम भित्र्याउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको ट्रेल रेस डाइरेक्टर राम पुरीले बताए।
२०७२ को विनाशकारी भूकम्पपछि आयोजना गर्न थालिएको रेसको यो पाँचौं संस्करण हो।
यसले मूलत: खेलकुद पर्यटनको दीगो विकासका साथै पर्यटकीय स्थानहरूको प्रवर्द्धनमा ठूलो टेवा पुर्याउने सिन्धुपाल्चोकका रेस डाइरेक्टर पुरीले बताए।
‘जिल्लाभर ट्रेल रेसको महत्व बढाई यस खेलको विकास गरी सामाजिक कार्यहरूमा पनि संलग्न हुँदै आएका छौं,’ डाइरेक्टर पुरीले भने,‘साहसिक दौड अन्तर्गत पर्ने ट्रेल रेसले राष्ट्र स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभाव पारेको छ।’
खेलको सुरूआतदेखि अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति बढ्दो रहेको उनको अनुभव छ।