युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलकुद संघहरूलाई राष्ट्रिय खेलकुद परिषद मातहत राख्न नमिल्ने बताएका छन्।
मन्त्री विश्वकर्माले खेलकुद संघहरू अन्तर्राष्ट्रिय खेलकुद संघहरूको मातहत पनि रहने भएकाले यसलाई राष्ट्रिय खेलकुद परिषदको मातहत राख्न नमिल्ने प्रष्टयाए।
उनले खेलकुद संघहरूलाई स्वायत्त संस्थाको रूपमा कानुनमा पनि व्यवस्था गर्न लागिएको स्पष्ट पारे।
बिहिबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको छलफलमा समितिका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले ओलम्पिक चार्टरमा नेपाल अनुबन्ध भएकाले खेलकुद संघहरूलाई राष्ट्रिय खेलकुद परिषद मातहत नराखी स्वायत्त निकायको रूपमा राख्ने कानुनी व्यवस्था गर्नुपरेको पनि स्पष्ट पारे।
उनले खेलकुद संघहरूलाई वडास्तरमा पनि गठन गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि बताए।
मन्त्री विश्वकर्माले खेलकुद संघहरूलाई कडा नियमन हुने गरी सो विधेयक ल्याइएको पनि बताए।
बैठकमा समितिका सदस्यहरूले खेलकुद प्रतियोगिताहरू अन्तर्राष्ट्रिय स्तरमा पनि सञ्चालन हुने भएकाले त्यसका नियमहरूलाई पनि ख्याल गरेर कानुन निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।
समितिका सदस्य राधेश्याम अधिकारीले अन्तर्राष्ट्रिय खेलकुदको नियमलाई पनि ध्यानमा राखेर कानुन निर्माणको गर्न सरकारसँग माग गरे। समितिका सदस्यहरूले प्रदेश र स्थानीय तहको अधिकार हनन् नहुने गरी संघीय सरकारलाई खेलकुदसम्बन्धी कानुन निर्माण गर्न पनि सचेत गराए।