आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको छ। म्यानचेस्टरमा टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन जोड्यो।
भारतका लागि ओपनर रोहित शर्माले सतक प्रहार गरे। उनले ११३ बलमा १४० रनको योगदान दिए। रोहितले आफ्नो इनिङमा १४ चौका र ३ छक्का हिर्काए।
अर्का ओपनर लोकेश राहुलले ५७ रन बटुले। नियमित ओपनर शिखर धवन घाइते भएपछि ओपनिङमा मौका पाएका राहुलले ७८ बलमा ३ चौका र २ छक्का हिर्काए।
रोहित र राहुलबीच पहिलो विकेटको लागि २३।५ ओभरमा १३६ रनको साझेदारी भएपछि भारतको उत्कृष्ट ओपनिङ भएको थियो।
कप्तान विराट कोहलीले ७७ रनको योगदान दिए। उनले ६५ बलमा ७ चौका हिर्काए। यससँगै कोहलीले एकदिवसीय खेलमा छिटो ११ हजार रन पूरा गर्ने रेकर्ड बनाए।
हार्दिक पाण्ड्याले १९ बलमा २६ रन जोड्दा महेन्द्रसिंह धोनीले १ रन मात्र जोड्न सके। केदार जादव ९ र विजय शंकर १५ रनमा अविजित रहे। बलिङमा पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए। वाहेब रिजय र हसन अलीले १(१ विकेट हात पारे।