इंग्ल्याण्डमा जारी आइसिसी एकदिवसीय क्रिकेट प्रतियोगिताको असार ९ गते हुने खेलको प्रत्यक्ष प्रसारण नेपालबाट हेर्न नपाइने भएको छ।
आइसिसीको पूर्वनिर्धारित कार्यतालिका अनुसार त्यस दिन बंगलादेश र अफगानिस्तानबीचको खेल हुँदैछ।
विज्ञापन ऐन, २०७६को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले ९ गते दिउँसो १२ बजेदेखि १० गते १२ बजेसम्म विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएकाले क्रिकेट प्रेमीले खेल हेर्न नपाउने भएका हुन्।
नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले विदेशी विज्ञापनबिनाका च्यानल बन्द गर्ने निर्णयले पार्न सक्ने असरलाई बुझाउन एक दिन विरोधस्वरूप विज्ञापन प्रशारण हुने विदेशी च्यानल बन्द गर्न लागिएको बताए।
अध्यक्ष पराजुलीका अनुसार क्रिकेट प्रेमीहरूले विश्वकप क्रिकेट समेत हेर्न पाउँदैनन्।
‘क्रिकेट होस् वा अन्य जुनसुकै खेल, प्रसारणका क्रममा बीचमा विज्ञापन आउँछ भने ती सबै च्यानल बन्द हुनेछ’ पराजुलीले भने।
प्रस्तावित विज्ञापन ऐन, २०७६ ले विदेशी च्यानलको प्रशारण विज्ञापनरहीत हुनुपर्ने औंल्याएको छ। तर इन्डियन ब्रोडकास्टले भने नेपालका लागि विज्ञापनरहीत प्रसारण गर्न नसकिने बताउँदै आएको छ। नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन्।