पोखरामा बिहीबारदेखि पुरुष तथा महिला राष्ट्रिय 'बिच भलिबल प्रतियोगिता' शुरु भएको छ। जिल्ला भलिबल संघको आयोजनामा भएको छैटौँ महिला तथा सातौँ राष्ट्रिय बिच प्रतियोगिता असार ७ गतेसम्म फेवाताल किनारको बिच भलिबल कोर्टमा सञ्चालन हुनेछ।
उद्घाटन खेलमा ससस्त्र प्रहरीको महिला टोलीले प्रदेश नम्बर ५ को टोलीलाई २१—१७ र २१—४ को सोझो सेटमा हरायो। त्यसै गरी पुरुष तर्फका गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई २१—१२ र २१—१२ को सोझो सेटमा हरायो।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक–एक टिमबाट पुरुष तथा महिला गरी २० टिमको सहभागीता रहने संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीले नगद ३०–३० हजार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २०–२० हजार तथा तेस्रो हुने टोलीले १०–१० हजार रुपैयाँ, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गर्ने छन्। त्यसै गरी उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई नगद ३-३ हजारबाट पुरस्कृत गरिने उनले बताए। तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न हुँदा करिब २३ लाख खर्च हुने आयोजकको अनुमान छ।
प्रतियोगिताको उद्घाटन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भलिबल राष्ट्रिय खेल भए पनि बजेटले उपेक्षा गरेको बताए। उनले भलिबल गाउँ गाउँ सम्म पनि खेल्न सकिने भएकाले आफू प्रधानमन्त्री भएका बेला राष्ट्रिय खेल घोषणा गरेको बताए।